१६ वडा कार्यालय भवन शिलान्यास

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ श्रावण ३०, शनिबार वर्गीकृत राष्ट्रिय

आज काठमाडौँ महानगरको वडा १६ कार्यालय भवन शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्नुभएको हो । वैदिक मन्त्र उच्चारणसहितको शिलान्यासमा अमरगढी नगरका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन), महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष मुकुन्द रिजाल, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र वडा सदस्यहरुले शिलान्यास पूजा गर्नुभएको थियो । 

भवन निर्माणका लागि साउन २९ गते कायादेश दिइएको हो । यसको निर्माण अवधि १८ महिना (०७९ फागुन १५) सम्म रहनेछ । भवनको लागत अनुमान १० करोड ३७ लाख ३७ हजार ३१० रुपैयाँ गरिएको थियो । बोलपत्रका माध्यमबाट गरिएको खुल्ला प्रतिस्पर्धाबाट गौरी पार्वती÷के एण्ड के. जी ÷ रमिता जेभीले ७ करोड ५३ लाख २२ हजार ६४० अर्थात् २९.१६ प्रतिशत कममा निर्माण कबोल गरेर जिम्मा पाएको छ । 

शिलान्यास कार्यक्रमपछि बोल्दै प्रमुख शाक्यले महानगरको व्यवस्थित सेवा प्रवाहका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधारका विषयमा कुरा गर्दै धेरैजसो वडा भवनहरु शिलान्यास भइसकेको बताउनुभयो । शिलान्यास भएकामध्ये केही उद्घाटन भइसकेका छन् भने केही निर्माण सम्पन्नताका चरणमा छन् । प्रमुख शाक्यले भन्नुभयो, ‘केह भवन हामीले शिलान्यास गरेका र्छौँ । उद्घाटन हाम्रो कार्यकालपछि हुनेछ । हामीले केही वडा भवन निर्माणका लागि प्रयासलाई सार्थक बनाउन सकिरहेका छैनौँ । मुद्दा चलाएर काम रोकिदिने प्रवृत्तिले केन्द्रीय कार्यालय निर्माण पनि ढिला भएको छ । वडाहरुमा कहीँ जग्गाको समस्या छ भने कहीँ न जग्गा खरिद गर्न पाइन्छ । न भवन नै किन्न पाइन्छ । यसबाहेक हामी निर्वाचित भइसकेपछिको पहिलो कार्यपालिका बैठकको निर्णय गरेको निर्णय (महानगरको आफ्नै केन्द्रीय कार्यालय र वडा भवन बनाउने) प्रभावकारी कार्यान्वयन भइरहेको छ ।’ उहाँले कोविड नियन्त्रण, सम्पदा संरक्षण र प्रवर्धन, स्वास्थ्य शिक्षा र रोजगारी तथा आर्थिक र सामाजिक विकासका क्षेत्रमा महानगरले गरेका कामका बारे चर्चा गर्नुभएको थियो । 

अहिले गरिएका कामको परिणाम यसपछिको समयमा महसुस हुन्छ । अहिले गरिएका काम स्थानीय सरकारको जग हुन् । कार्यक्रममा अमरगढी नगरका प्रमुख ओझाले, शासन व्यवस्थापछिको पालिकाहरुको अवस्थाका विषयमा चर्चा गर्दै, अन्तरपालिका समन्वय र सहकार्यले काठमाडौँ महानगर र अमरगढी नगरविच भगिनी सम्बन्ध स्थापना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।   

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, सुविधा सम्पन्न वडाबाट गुणस्तरीय सेवा प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । स्थानीय शासन चलाउन जग बलियो बनाउनु पर्छ । हामीले कार्यालय भवन निर्माण गरेर महानगरको सेवा व्यवस्थापनको जग मजवुत बनाउने प्रयास गरेका हौँ । खड्गी श्रेष्ठको भनाइ थियो । 

वडा कार्यालयको डिजाइन गर्दा आजभन्दा १० पछिको अवस्थालाई आँकलन गरिएको छ । हामी वडाको सेवा कुनै पनि कारणले नरोकिने संरचना बनाउँदैछौँ । वडाध्यक्ष मुकुन्द रिजालले भन्नुभयो, ‘वडा कार्यालय बनाउने महानगरको निर्णय हरेक सेवाग्राहीको सुविधासँग जोडिएको विषय हो । यसकारण वडा कार्यालन बन्नुलाई सबैले गौरवका रुपमा ग्रहण गर्नुपर्छ ।’

भवनका डिजाइनर सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार बेसमेन्टसहित भवन १० हजार ७०३ बर्गफुट क्षेत्रफलको हुनेछ । भवनको भूमिगत तलामा १० वटा चारपाङ्ग्रे सवारी पार्किङ् गर्ने क्षमता हुनेछ । ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टसहितको भवन अपाङ्गमैत्री हुनेछ ।   

भवन बाहिरबाट हेर्दा नेपाली परम्परागत शैलीको हुनेछ भने भित्र आधुनिक सुविधा हुनेछन् । भवनको जमिन तलामा सहरी स्वास्थ्य क्लिनिक र दर्ता चलानी कक्ष हुनेछ । पहिलो तलामा वडाध्यक्ष, वडा सदस्यहरु र वडा सचिवको कक्ष रहनेछ । दोस्रो तलामा प्रशासनिक कक्ष तेस्रो तलामा प्रमुखको बैठक र कार्यालय कोठा हुनेछ । भवनमा सुविधा सम्पन्न बैठक कक्ष हुनेछ । 

१ रोपनी ४ आना २ पैसा जमिनमा निर्माण हुने भवनको बाहिरी भागमा मोटरसाइकल पार्किङ् गर्ने ठाउँ र हरियाली हुनेछ।