add

कर नबुझाएको करदातालाई कर तिर्न आउनको पञ्चेबाजा बजाए

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र १०, बिहिबार वर्गीकृत स्थानीय-समाज

काठमाडौं महानगरपालिकाले कर नबुझाएको करदातालाई कर तिर्न आउनका लागि सूचना दिन नौलो तरिका अपनाएको छ ।

पत्रपत्रिकामा नाम निकाल्ने, संचारमाध्यममार्फत कर तिर्न आउन आग्रह गर्ने, पत्र काट्ने लगायतका तरिहकाहरु त चलि नै आएका परम्परागत तरिका भए ।

काठमाडौं महानगरपालिकाले भने आज घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकैमा पुगेर पञ्चेबाजा बजाएको छ ।

महिला सहकारीको टोलीले करदाताको ढोकैमा पुगेर पञ्चेबाजा बजाए र गीत गाउँदै कर तिर्न आउन अनुरोध गरे । कर तिर्न आउन भन्दै महिलाहरुले यस्तो गीत गाए ‘महिला बाजा नमान्नु भारी, कर तिर्दिए हुनेथ्यौँ आभारी ।’

कर नतिरे सेवा रोक्का गर्ने सूचना समेत टाँसेको छ । महानगरको राजस्व विभागले २४ गतेभित्र कर नतिरे त्यसपछि सेवा रोक्का गर्ने सूचना टाँस गरेको हो ।

आज सूचना टाँस भएका व्यवसायहरुमा वडा १ को कान्तिपुर होटल, वडा १३ को होटल प्लाटिनियम, वडा १७ को ह्वाइट फिल स्कूल, २२ का रञ्जना टे«ड सेन्टर, केशा प्रपर्टीज प्रा. लि., आर. वी. कम्प्लेक्स र वडा ३१ को शिशु अर्याल रहेका छन् ।

करदाताकोमा पुगेपछि नगर प्रहरीको टोलीले भदौ २४ गतेभित्र राजस्व विभागमा सम्पर्क गर्न आउने सूचना पढेर सुनाएको थियो । 

यस अघि कर तिर्न आउन असार १६ गते पहिलो पटक २३ व्यक्ति/व्यवसायीको र साउन २४ गते दोस्रो पटक ५२ व्यक्ति/व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार नाम सार्वजनिक भएका ७५ मध्ये अहिलेसम्ममा १० जनाले आंशिक रुपमा तिरेको २ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी २० जनाले विवरणसहित कर बुझाउन आउने प्रतिवद्धता गरेका छन् । नाम सार्वजनिक भएका तर सम्पर्कमा नआउनेहरु सन्दर्भमा भदौ २४ देखि प्रचलित कानुनबमोजिमको कारवाही सुरु हुनेछ ।