add

भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र १५, मंगलबार वर्गीकृत राष्ट्रिय

 भोलि बिहान ६ बजेदेखि काठमाडौं महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर उठाइने भएको हो । ‘‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,” महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘‘स्थानीय समस्या समाधान गर्ने काम निरन्तर हुनेछ ।

हामीले समाधान गर्न नसक्ने समस्या भए सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौैँ । तर, लामो समयसम्म फोहोर रोकेर समस्या बढाउने काम हुँदैन । स्थानीय जीवन र वातावरणलाई असर नपार्ने गरी भोलिदेखि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको काम नियमित हुनेछ । हामी स्थानीयले उठाएका जायज माग पूरा गर्न तयार छौँ ।”

आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीकोे बैठकले यस्तो निर्णय गरेको हो ।

सडक भत्किएपछि साइटमा फोहोर लैजान कठिनाइ भइरहेका बेला भदौ ६ गते ककनी गाउँपालिका वडा १ की एकजना ७० वर्षीया वृद्धाको मृत्यु भयो । उनको मृत्यु हैजाको कारण भएको जनाउँदै स्थानीयले भदौ १० गतेदेखि साइटमा फोहोर लैजान अवरोध गर्दै आएका छन् । 

 

हैजाको एकिन गर्न महानगरबाट सम्भावित क्षेत्रका ५ जना व्यक्तिको दिसा र ४ वटा परिवारले पिउने गरेको पानीको नमुना सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराइसकेको छ । प्रयोगशालाबाट प्राप्त रिपोर्टले त्यस क्षेत्रमा हैजाका जीवाणु नभेटिएको देखाएको छ । 

बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले, फोहोर व्यवस्थापन कार्य अत्यावश्यक सेवा भएकोले अवरोध नहुने बताए । उनले फोहोर व्यवस्थापनमा सुरक्षा चुनौती देखिएमा गृह प्रशासनले समन्वय गरेर सुरक्षा व्यवस्था मिलाउने बताए । 

“अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्नुपर्ने हुन सक्छ । स्थानीय विषयलाई समन्वय र सम्बोधन गर्ने काम काठमाडौँ महानगरले गरिरहेको छ । समस्याको समाधान छलफलबाटै हुने भएकोले बल प्रयोग गर्नुपर्ने अवस्था आउन नदिन सबै सजग हुनुपर्छ । समन्वय गर्दा वा सम्झाइ–बुझाइ गर्दा पनि भएन भने बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्नैपर्ने हुन्छ,” उनले भने ।

फोहोर व्यवस्थापनका विषयमा सोमबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सहजीकरणका लागि आग्रह गरेका थिए ।