जनसेवा सामुदायिक केन्द्र भवन शिलान्यास

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र १७, बिहिबार वर्गीकृत स्थानीय-समाज

जनसेवा सामुदायिक केन्द्र र नव युवा क्लवको संयुक्त भवन शिलान्यास भएको छ । वडा २० को मरु छासपाक्वमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भवनका शिलान्यास गर्नुभएको हो ।  

भवन निर्माणका लागि १ करोड ४४ लाख २७ हजार ३१० रुपैयाँ लागत अनुमान गरिएको थियो । खुल्ला प्रतिस्पर्धाबाट निर्माण पक्ष छनौट गर्दा सृजना गौत्तम कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि. ले ८६ लाख ९८ हजार ३७८ रुपैयाँमा निर्माण कवोल सम्पन्न गर्ने कबोल गरेको छ । प्रतिस्पर्धामा आउनेमध्ये यो सबैभन्दा कम रकम हो । 

गएको असार २९ गते सम्झौता भएको भवन निर्माण कार्य साउन २६ गतेबाट सुरु भएको छ । भवन आउँदो बर्ष (०७९) साउन १५ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । 

शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले बर्दीसहितका र बर्दीविनाका प्रहरीको संयुक्त सहभागिताले मात्र समाजमा शान्ति सुरक्षा कायम हुन सक्ने बताउनुभयो । ‘शान्त र सुरक्षित समाज सबैको चाहना हो । यो चाहना पूरा गराउन नागरिक र प्रहरीको संयुक्त कार्यक्रम हुनुपर्छ ।’ प्रमुख शाक्यले, सहरी सुरक्षाका लागि नेपाल प्रहरीसँग र सडक सुरक्षाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गरिरहेको उल्लेख गर्नुभयो।