ललितपुरको मेयरले कुरो घुमाएकोमा गृहसचिवको आपत्ति

Swoniga Online | २०७८ भाद्र १९, शनिबार वर्गीकृत स्थानीय-समाज

स्वनिगः अनलाईन, ललितपुर । 

गृह सचिव टेकनारायण पाण्डेले पुल्चोकस्थित समय फल्चाको बारेमा आफ्नो भनाईलाई मेयर चिरिबाबु महर्जनले बग्याएर प्रस्तुत गर्नुभएको स्पष्ट पार्नुभएको छ ।

 जिल्ला प्रशासन कार्यालय ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमा बोल्दै गृह सचिव पाण्डले भन्नुभयो ‘ मेयरले समय फल्चाको विषयमा बोलेको मैले युट्बमा सुने । समय फल्चा बनाउन मैले पनि स्वीकृति दिएको भनेर मेयरले भन्नुभएको रहेछ । मैले भन्दै नभनेको कुरालाई उहाँले भनेको हो भनेर बोल्नुभएको रहेछ । ’

 अस्ति मेयरले समय फल्चा बनाउने भनि मसंग कुरा गर्दा मैले भनेको थिए ‘फल्चा बनाउन स्थानीय सहमति जुटाउनुहोस् । समय फल्चा पहिला कुन ठाउँमा थियो ? अहिले त्यहाँ खाली जग्गा छ कि छैन ? आवत जावतमा वा कसैलाई असर पर्छ कि पर्दैन् ? सबै पक्ष बुझेर अघि बढ्नु भनि मैले मेयरलाई भनेको थिए । ’ गृह सचिव पाण्डेले भन्नुभयो ‘ तर मेयरले दुई सय वर्ष पहिला फल्चा थियो भनेर पुरानै फोटो देखाएर फल्चा बनाउने भन्नुभयो । अहिले फल्चा बनाउन मैले पनि स्वीकृति दिएको छु भनेर स्थानीय जनताको बीचमा गएर मेयरले भन्नुभएको थाहा पाए । ’ 

 समय फल्चा पुनःनिर्माणको शिलान्यास भदौं ३ गते तोकिएको थियो । त्यसको एकदिन अघि जिल्ला अदालत ललितपुरको अन्तरकालीन आदेशले गर्दा शिलान्यास रोकिएको थियो। सोही क्रममा मेयर महर्जनले गृह सचिव पाण्डेलाई साविकको पाटी रहेको फोटो देखाएको उल्लेख गर्दै भन्नुभयो  ‘ फोटो देखाएर मैले भने, ल सचिवज्यू कुरो यही हो । सिडियो कार्यालले रोक्का गरेको छ । कुरो यो हो, अब त्यो पाटी बनाउने कि नबनाउने ?।उहाँले फोटो यसो हेर्नु भो । अंग्रेजीमा भनिन्छ नि । तस्वीरले हजार शब्द भन्दा बोलेको हुन्छ । गृह सचिवले सो फोटो हेरेर कुरै सिद्धियो नि, भो मेयर साहेब भनेर भन्नुभयो। त्यसपछि त्यहाँ अगाडि रहेको फोन टिपेर गृहसचिवले सिडियो साहेब लाई फोन गरेर ए ललितपुरको सिडियो साहेब, तपाईले रोकेको पार्टी बनाउनु छ । फुकुवा गरिदिनुुस् भन्नुभयो ।’

 गृह मन्त्रालयको जिम्मेवारी कहाँ कहाँ र कसरी जोडिएको हुन्छ भन्ने सन्दर्भमाको उदाहरण दिँदै गृह सचिवले शुरुमै सो भनाई राख्नुभएको थियो ।गृह सचिव पाण्डेले यस्तो भनिरहँदा प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहित जिल्लाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अपराध अनुसन्धानका नेतृत्व र कार्यालयका सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।