नवयुग मा. वि. मा कम्प्युटर ल्याव शुभारम्भ

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ भाद्र २१, सोमबार वर्गीकृत स्थानीय-समाज

आजबाट नवयुग माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव सञ्चालनमा आएको छ। काठमाडौँ महानगरको वडा २१ मा रहेको विद्यालयमा प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलभक्त शाक्यलाई डेक्सटप कम्प्युटर र प्रधानाध्यापक चुडामणि शर्मालाई ल्यापटप हस्तान्तरण गरेर ल्याब शुभारम्भ गर्नुभएको हो।

त्यस अवसरमा बोल्दै प्रमुख शाक्यले सामुदायिक शिक्षाको स्तर उकास्न महानगरले माग भएबमोजिमको लगानी बढाएको उल्लेख गर्नुभयो । ‘हामी मागअनुसारका संरचना बनाइदिन्छौँ। प्रविधि र प्राविधिक सुविधा उपलब्ध गराउँछौँ । उच्चस्तरीय शिक्षाका लागि आवश्यक पर्ने नीति बनाइदिन्छौँ। तर विद्यालयले प्रतिफल दिनुपर्छ । मैले भन्दै आएको छु, हामी संस्थागत विद्यालय विस्थापनको कुरा गर्दै छैनौँ तर प्रतिस्पर्धा गछौँ ।’ उहाँले विद्यार्थी संख्याको प्रसङ्ग जोड्दै भन्नुभयो, ‘निःशुल्क शिक्षा दिन्छौँ भन्ने सामुदायिक विद्यालयमा विद्यार्थी नहुनु र शुल्क लिएर अध्यापन गराउने संस्थागत विद्यालयमा विद्यार्थीको संख्या किन धेरै हुन्छ । अव समीक्षा गर्नुपर्छ र सामुदायिक विद्यालयले आफूलाई प्रतिस्पर्धी बनाउनुपर्छ।’

महानगरले शिक्षामा गरेको लगानीको विषय उल्लेख गर्दै प्रमुख शाक्यले, विद्यालयलाई वातावरणमैत्री बनाउन हरियाली बढाउने, खेल मैदानलाई धुलोमुक्त बनाउने, सबै सामुदायिक विद्यालयमा  एउटै रङ्ग लगाउने, महावाणी, भित्तेलेखन र भित्ते चित्र बनाउनेजस्ता संरचनागत काम गरेका छौँ। उहाँले प्राविधिक शिक्षाको कुरा गर्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लव (स्टीम क्लब) स्थापना गरिएको बताउनुभयो । यसबाट सामुदायिक विद्यालयको सार्वजनिक छविमा सुधार हुँदै आएको बताउनुभयो।

कार्यक्रममा वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले शिक्षकहरुलाई प्रविधिमैत्री बन्न आग्रह गर्नुभयो । हामी सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउँदैछौँ । यदि शिक्षक प्रविधिमैत्री भएनन् भने पूर्वाधारले प्रतिफल दिन सक्दैन। त्यसैले शिक्षकहरु समयानुसार रुपान्तरण हुनुपर्छ, वडाध्यक्ष बज्राचार्यको भनाइ थियो।

विद्यालय शिक्षामा महानगरले लगानी बढाएपछि विद्यार्थी संख्या बढ्न थालेको छ। विद्यालय प्रशासन र शिक्षकहरुमा नयाँ उत्साह थपिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाक्यले भन्नुभयो, सामुदायिक विद्यालयहरुले अब आफूलाई अब्बल भएको पुष्टि गर्ने बेला आएको धारणा राख्नुभयो।

विद्यालय शिक्षा महानगरमा आएपछि हामी उत्साहित भएका छौँ । महानगरसँग आफ्ना आवश्यकता सुनाउन पाएका छौँ। विद्यालयका प्रधानाध्यापक शर्माले, माग गरिएका सुविधा पाएपछि अभिभावक सँगै रहेको अनुभूति भएको बताउनुभयो । उहाँकाअनुसार आज शुभारम्भ गरिएको ल्याबमा ८ वडा डेक्सटप, एउटा ल्यापटप र एउटा ट्वाब छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्राप्त ६ लाख ५० हजार रुपैयाँबाट यी उपकरण खरिद गरिएका हुन्।

२०१५ सालमा स्थापना भएको यो विद्यालय नमूना विद्यालयका लागि छनौट भएको छ । यस विद्यालयमा करीब २ सय विद्यार्थी छन्।