सवैले आ–आफ्नो कर्तव्य पालना गरौँ, अपराध स्वतः न्यून हुन्छः मन्त्री शाक्य

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ भाद्र २८, सोमबार वर्गीकृत राष्ट्रिय

हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले २०७८ सम्मको बस्तुस्थिति प्रतिवेदन प्रस्तुत गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी प्रकाशजगं कार्कीको नेतृत्वमा बागमती प्रदेशका एसपी नवराज अधिकारी र अर्का एसपी ईश्वर थापाले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजयक्रान्ति शाक्य समक्ष सोे प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । 

प्रतिवेदन प्रस्तुतपछि सम्वोधन गर्दै मन्त्री शाक्यले भौतिक संरचनाले सुसज्जित हुंँदैमा अपराधमा कमी नआउने भन्दै अपराध मानिसको मानसिकतासँग, मानिसको व्यवहारसँग र वातावरणसँग निर्भर हुने कुरा भएको बताउनुभयो । ‘मानसिकरुपमै चेतनशील, विवेकशील, करुणा र मैत्री भावनाले भरिपूर्ण अब्बल नागरिक बनाउन सबै लाग्नुपर्छ,’ मन्त्री शाक्यले भन्नुभयो, ‘त्यसो भयो भने मात्रै सुखी नेपालीको अभियान सफल हुनेछ ।’ 

मन्त्री शाक्यले आन्तरिक ममिला मन्त्रालयले आगामी दिनमा बजेट निर्माण गर्दा प्रदेश प्रहरीसँग सम्वन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दै अपराध न्यूनिकरण गर्ने र आदर्श समाज निर्माण गर्ने सन्र्दभमा प्रदेश प्रहरीलाई आवश्यक सहयोग गर्ने बताउनुभयो । 

‘नैतिक शिक्षा र नागरिक चेतना अभिबृद्धि गर्ने शिक्षा विद्यालयस्तर देखिनै पढाउने सिकाउने गर्नुपर्दछ,’ मन्त्री शाक्यले भन्नुभयो, ‘नैतिक आचरण राम्रो भयो र  मेरो कारणले अरुलाई दुःख÷अप्ठेरो हुनु दिनु हुंदैन भन्ने भावना, आचरण र व्यवहार अभिबृद्धि गर्न सकियो भयो भने मात्रै समाजमा अपराध, विकृतिजन्य व्यवहार जस्ता कुराहरु आफैँ कम भएर जान्छन् ।’

उहाँले स्रोत साधनको पर्याप्तता नभए पनि भएको स्रोत साधन उपयोग गरेर अपराध न्यूनीकरण गर्न, दूर्घटना न्यूनीकरण गर्न र कानुन कार्यान्वयन गर्न बागमती प्रदेश प्रहरीलाई निर्देशन दिनुभयो । 

सोही अवसरमा डिआईजी कार्कीले बागमती प्रदेश प्रहरी कार्यालयको बस्तुस्थिति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बस्तुस्थिति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले अपराध रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम गर्न स्रोत परिचालनको व्यवस्था गर्नुपर्ने, अत्याधुनिक डिजिटल चेकपोइन्ट निर्माण गर्नुपर्ने, प्राकृतिक स्रोत–साधनको अबैध दोहन रोक्न सरकोकारवालासँग समन्वय गरी नियन्त्रण गर्ने जस्ता कुरामा मन्त्रालयबाट उल्लेख्य सहयोगको अपेक्षा गरेको बताउनुभयो ।   

 उहाँले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललिलपुर बाहेक बाँकी १० जिल्ला आफ्नो कार्यक्षेत्र रहेको भन्दै बागमती प्रदेश प्रहरीको दश वटै जिल्लामा पूर्वाधार विकास विस्तार गर्दै गरेको बताउनुभयो ।  ‘२०७६ सालदेखि बागमती प्रदेशले बजेट दिंदै आएको छ,’ कार्कीले भन्नुभयो, ‘बागमती प्रदेशले यसपाली पनि प्रहरी कार्यालयहरु निर्माणका लागि रु.४८ करोड बजेट छुट्याएको छ । भौतिक पूर्वधार पूर्णरुपमा निर्माण गर्न थप बजेटको अवश्यकता छ ।’

उहाँले सीसी क्यामरा जडान गर्न, सुरक्षाका विभिन्न उपकरणहरु खरीदलगायतका लागि बजेट राखेको व्यवस्थापन भएको जानकारी गराउनुभयो ।  कार्कीले बागमती प्रदेशमा प्रहरीको दरबन्दी ७ हजार ९ सय ८१ रहेकोमा हाल ५ हजार ३ सय २४ मात्रै रहेको कार्यरत रहेको बताउनुभयो ।   ‘कारागारको अवस्था मजबुत नभएकाले समय–समयमा कारागारबाट कैदीबन्दी भाग्ने गरेको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘कैदीबन्दीको आचरण सुधारका लागि व्यवसायिक सीपमुलक तालिमको व्यवस्था गर्नुपर्ने, कारागारको भैतिक संरचना पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने अवस्था छ ।’ 

गत वर्ष भन्दा अपराधका घटनामा न्युनिकरण हुँदै गएको भन्दै उहाँले थप उपकरणहरु, स्रोत–साधन भए अपराधलाई अझै न्यूनिकरण गरेर जान सकिने उल्लेख गर्नुभयो । लागुऔषध, मानव बेचविखन जस्ता संगठित र सामाजिक अपराधमा न्युनिकण हुँदै गएको भन्दै उहाँले आन्तरिक मामिला मन्त्रालयको मातहतमा पुर्नस्थापन केन्द्र खोल्न सकेको अवस्थामा दूव्यसनी न्युनिकरणमा थप सहज हुने बताउनुभयो ।  कोराना करहका कारण आत्महत्याको घटनमा वृद्धि भएको, जबरजस्ती करणीको घटना बढेको बस्तुस्थिति प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्कीले आफन्त, छरछिमेक र नातेदारबाट नै जबरजस्ती करणीका घटना बढेको भन्दै त्यसलाई न्युनिकरणका लागि पनि परिवार भित्रै छिरेर सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो 

उहाँले ०७५–०७६ मा ८ सय २३ ले आत्महत्या गरेको र ०७६–०७७ मा ९ सय ३५ ले आत्महत्या गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । तथ्याङ्कमा ०७७–०७८ मा  १ हजार ३६ ले आत्महत्या गरेका छन् ।  

त्यसैगरी तथ्याङ्क अनुसार २०७७–०७८ मा बागमती प्रदेशमा चक्काजाम २५, नेपाल बन्द २, धर्ना १०, विरोध जुलुस तथा प्रदर्शन २ सय १६, मशाल जुलुस ३६ रहेको देखिएको छ ।  बागमती प्रदेशमा कुनै पनि भूमिगत समूह नरहेको, पछिल्लो राजनीतिक अवस्थामा परिवर्तन देखिए पनि अवस्था सामान्य रहेको पनि तथ्याङ्कमा उल्लेख छ ।