काठमाडौँले महानगरबासीका लागि उपचार दिएर पुग्दैन, त्यसअनुपातमा हामीले स्वास्थ्य क्षेत्रमा लगानी बढाएका छौँ — प्रमुख शाक्य

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ आश्विन २४, आइतबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकातर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि बोल्र्दै प्रमुख शाक्यले महानगरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको विषय उल्लेख गर्दै, कोविड उपचार र रोकथामका लागि काठमाडौँ महानगरको लगानी स्थानीय सरकारकातर्फबाट एकै पटक गरिएको सबैभन्दा धेरै भएको बताउनुभयो । ‘काठमाडौँबाहिर कसैलाई विशेषज्ञ स्वास्थ्य सेवा आवश्यक प¥यो भने काठमाडौँ आउनु पर्छ । यसरी उपचारका लागि आउनेहरुको सहजताका लागि हामीले अस्पतालको क्षमता बढाउन लगानी गरिरहेका छौँ । हामी चाहन्छौँ, उपचारका लागि कसैले पनि काठमाडौँ आउन नपरोस् । उपचार आफ्नै ठाउँमा पाउन सक्नुहोस् । यसले गर्दा विरामीका परिवारको आर्थिक बोझ कम हुन्छ । यसका लागि काठमाडौँ महानगरले जिल्ला बाहिरको स्वास्थ्य सेवा सुधारमा सहयोग गरिरहेको छ ।’ प्रमुख शाक्यको भनाइ थियो । 

यसरी सहयोग गर्दा चिकित्सक र विरामी दुवैको आत्मविश्वाश बढेको पायौँ । यो आत्मविश्वाशले रोग छिटो निको हुन सहयोग पुग्ने प्रमुख शाक्यको भनाइ थियो । त्यस क्रममा उहाँले दक्षिणकाली नगरमा पर्ने प्रसिद्ध धार्मिक दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि १ करोड रुपैयाँ र सार्वजनिक ठाउँमा हरियाली पार्क बनाउन १ करोड रुपैयाँ महानगरले आर्थिक सहयोग गरेको बताउनुभयो। 

त्यस क्रममा अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले, मनमोहनको क्षमता विकास भएपछि काठमाडौँसहित ललितपुर र मकवानपुरका विरामीलाई उपचारमा सहज हुने बताउनुभयो । अक्सिजन प्लान्ट स्थापना भएपछि अस्पतालले दिने उपचारको स्तर र खर्चमा सहयोग पुग्ने बताउनुभयो।

सम्झौताबमोजिम महानगरले प्लान्ट चलाउन १५ लाख रुपैयाँ अनुदान दिनेछ । अस्पतालले अन्य स्रोतबाट रकम थपेर प्लान्ट स्थापना गर्नेछ । सम्झौताबमोजिम सञ्चालन हुने प्लान्टमा ‘काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित’ लेख्नुपर्नेछ । 

म्हानगरले उपलब्ध गराएको रकमको प्रचलित व्यवस्थाबमोजिम लेखापरीक्षण गराएर अन्तिम प्रतिवेदन अस्पतालले महानगरलाई बुझाउनुपर्नेछ।