कीर्तिपुर नगरपालिकाद्वारा नगरका सहकारी संस्थाहरूलाई तालिम

Swoniga Online – स्वनिगः संवाददात | २०७८ मङ्सिर ४, शनिबार वर्गीकृत राष्ट्रिय

कीर्तिपुर नगरपालिकाले नगरमा सञ्चालित सहकारी संस्थाहरूलाई एकदिने तालिम सञ्चालन गरेको छ।

नगरपालिका क्षेत्रभित्रका सहकारी संस्थाका व्यवस्थापक तथा लेखा हेर्ने वा कम्प्युटर अपरेटरहरूका लागि सम्पत्ति शुद्धिकरण निवारण र कोपोमिस सम्बन्धी  तालिम आयोजना गरेको हो ।यही कार्तिक २५ गते कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको हलमा भएको तालिम तथा कार्यशाला गोष्ठीको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गर्नुभएको थियो।

नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काको पनि उपस्थिति रहेको कार्यक्रममा कीर्तिपुर सहकारी सञ्जालका अध्यक्ष तथा कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिल बहादुर महर्जनलगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा इन्द्रबहादुर कार्कीले प्रशिक्षण दिनुभएको थियो। कीर्तिपुर नगरपालिका सहकारी शाखाका शाखा प्रमुख सुजिन्द्र महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रम बालकृष्ण महर्जनले सञ्चालन गर्नुभएको थियो ।