add

अनुगमन संयन्त्र र अभिलेखीकरण एकीकृत गर्दै काठमाडौँ महानगरपालिका

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ मङ्सिर १६, बिहिबार वर्गीकृत राष्ट्रिय

अनुगमनलाई सरल, सहज र व्यवस्थित गर्न काठमाडौँ महानगरपालिकाले अहिलेका अनुगमन गर्ने संयन्त्रलाई एकीकृत गर्ने प्रक्रिया थालेको छ। कामको प्रकृतिअनुसार त्यसलाई हेर्ने अधिकारी र संयन्त्र छुट्टै भएपछि सूचना फरक फरक ठाउँमा छरिएका छन्। यसबाट समग्र स्थिति हेर्न नसकिने भएपछि महानगरले छाता कानुनी प्रबन्धबाट व्यवस्थापन प्रक्रिया थालेको हो। यस क्रममा आज योजना अनुगमन तथा मूल्याङ्कन एकाईले ‘अनुगमन तथा मूल्याङ्कन निर्देशिका तर्जुमा अन्तरक्रिया’ कार्यक्रम आयोजना ग¥यो। अन्तरक्रियामा अनुगमन गर्ने विभागका अधिकारीलाई भेला आफू सम्बद्ध अनुगमन सम्बन्धी प्रस्तुति गर्न लगाइएको थियो। 

प्रस्तुतिमा अनुगमन गर्दाको कानुनी आधार, अनुगमन र सूचना व्यवस्थापन, रिपोर्टिङ् गर्ने पद्धति, अनुगमनको सूचना संकलन गर्दा प्रयोग गरिएको ढाँचा, उजुरी वा गुनासो लिने प्रक्रिया, समुदायबाट प्राप्त प्रतिक्रिया, सम्भावना र चुनौतीका विषय समेटिएका थिए। 

स्थानीय सरकार सञ्चालनका लागि प्राप्त संवैधानिक अधिकार, स्थानीय सरकार सञ्चालन ऐनले पालिकाहरुलाई दिएका जिम्मेवारी, सेवा प्रवाह, नगर सभा र कार्यपालिका बैठकबाट गरिएका निर्णयहरुको कार्यान्वयनको अवस्था जस्ता विषयमा अनुगमन आवश्यक छ । यसैगरी दैनिक खाद्यान्न, तरकारीलगायत उपभोग्य बस्तुको भण्डारण, मूल्य र बजार, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्यान्वयनको अवस्था, जनजीवनलाई सहज बनाउन मुद्दा नपरी हेर्नुपर्ने विषय, सार्वजनिक सम्पत्तिको स्थानान्तरण, हस्तान्तरण, संरक्षण र उपयोग, निर्माण कार्य, आफैँले बनाएको कानुन कार्यान्वयनको अवस्था, ऐनले दिएका जिम्मेवारी उपयोगको अवस्था अनुगमनका क्षेत्रहरु हुन्।   

संघ सरकार, प्रदेश सरकार, अदालत वा पारदर्शिताका लागि स्थापना भएका कार्यालयहरुबाट प्राप्त निर्देशनको पालनाजस्ता कामलाई राजनीतिक र प्रशासनिक संयन्त्रबाट अनुगमन हुने गरेको छ। अन्तरक्रियामा महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठले, महानगरले गर्ने जुनसुकै कामले जनतालाई लाभ पुग्नु पर्ने धारणा राख्नुभयो। ‘नतिजालाई गन्तव्य मानेर काम गर्ने हो भने निर्माण कार्यमा त्रम त्रुटी हुन्छ। सामान्य जनजीवनको अवस्थालाई सहज बनाउन उपभोग्य बस्तुको मूल्य र गुणस्तरमा गम्भीर बन्नुपर्छ।’ खड्गी श्रेष्ठले भन्नुभयो, ‘अनुगमन गरेपछि जनताले तत्काल त्यसबाट केही न केही परिवर्तन महसुस गर्नुपर्छ। यसको अभिलेखीकरणबाट संस्थागत व्यवस्थाबाट त्यसको सुधारको अवस्था जाँच गरिरहनु पर्छ।’

अनुगमनबाट देखिएको अवस्थालाई सफ्टवेयरमार्फत सम्बन्धित अधिकारीकोमा जानकारी दिने, तुलना गर्ने, सुधार हेर्ने प्रणाली आवश्यक भएकोले एकीकृत संयन्त्र आवश्यक भएको हो। अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, ‘जनप्रतिनिधिको नेतृत्वमा हुने अनुगमन र कर्मचारीको तहमा हुने अनुगमन फरक हो। तर अब सबै प्रकारका अनुगमनको अवस्थालाई हेर्न र बुझ्न सकिने खुल्ला तथ्याङ्कका रुपमा अभिलेखीकरण प्रणालीको विकास हुनेछ।’ 

काठमाडौँ महानगरपालिकाले साढे ४ बर्षको अवधिमा ६५ वटा कानुनहरु तर्जुमा गरेको छ। यीमध्ये अनुगमन सम्बन्धी ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७’ जारी भएको छ। स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएको यस ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्ने व्यवस्था गरिएको छ। यसबाट स्वच्छ तथा गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुने महानगरको अपेक्षा छ। प्रशासन विभागका प्रमुख महेश काफ्ले भन्नुहुन्छ, ‘आन्तरिक कार्यप्रणालीको अनुगमनबाट जनशक्ति व्यवस्थापनमा चुस्तता आउनेछ।’

अब निर्माण हुने कानुनी व्यवस्थाबाट विगतमा भएका असमन्वय हटेर जाने तथा कामको प्रगति एकीकृत रुपमा अभिलेखीकरण हुनेछ। अन्तरक्रियामा कानुनी प्रबन्धबाट प्राप्त हुने उपलब्धीबा विषयमा निर्देशक बसन्त आचार्य र उपनिर्देशकहरु सुमन अधिकारी र प्रहलाद घिमिरेले प्रस्तुतिमार्फत धारणा राख्नुभएको थियो।