add

इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत आर्थिक

आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले ‘भुक्तानी तथा फर्छ्याेट विनियमावली २०७२’ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यका लागि भुक्तानी सेवा प्रदायकको अनुमति पत्र प्रदान गरेको छ। 

‘यस अनुमतिपत्रको प्राप्तिले आई-पे ले सन् २०१० देखि नेपालभरि सञ्चालन गर्दै आएको गुणस्तरीय र व्यवस्थित सेवालाई अनुमोदन गरेको छ र हामीले नेपालको सन्दर्भमा नगदरहित डिजिटल भुक्तानी प्रवर्द्धन गर्न/गराउन पुर्‍याएकाे योगदानको कदर गर्दै अझै राम्रो गर्दै जान प्रोत्साहित गरेको अनुभूति गरेका छौँ’, आई-पे का अध्यक्ष अमृतमान तुलाधरले भन्नुभयाे ।     

आई-पे एउटा अनलाइन भुक्तानी द्वार र डिजिटल वालेट हो जसले प्रयोगकर्तालाई इन्टरनेटको माध्यमबाट विभिन्न वस्तु तथा सेवा विभिन्न व्यवसायीबाट अनलाइन खरिद गर्न र त्यसकाे भुक्तानी पनि डिजिटल वालेटमार्फत सजिलै अनलाइन नै गर्न सकिने गरी मध्यस्थता गर्दछ। आई-पे ले आफ्नो डिजिटल वालेट र भुक्तानी सेवा सबै व्यक्तिगत एवम् व्यावसायिक प्रयोगकर्तालाई नि:शुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। 

आई-पे का प्रमुख कार्यकारी अधिकृत अमिर महर्जनका अनुसार देशैभरि आई-पे का पाँच लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन् भने एक हजारभन्दा बढी मेहनती एवम् क्रियाशील एजेन्ट छन् ।

विगत एक दशकदेखि मोबाइल रिचार्ज/टपअप, बिजुली र पानीको बिल, इन्टरनेट तथा टेलिभिजनको बिल, फिल्म हलको टिकेटिङ, प्लेनको टिकेटिङलगायत ई–कमर्समार्फत किनिएको सामान तथा सेवाको अनलाइन भुक्तानी गर्ने सेवा प्रदान गर्दै आएको छ । 
 

 

अन्तिम अपडेट: फागुन २४, २०७७