सहज र सरल स्वास्थ्य सेवाका लागि हामीले लगानी बढाएका छौँ — मेयर शाक्य

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ पौष २, शुक्रबार वर्गीकृत राष्ट्रिय

२७ औँ महानगर दिवसका अवसरमा काठमाडौँ महानगरले आयोजना गरेको वृहत स्वास्थ्य शिविरबाट २ हजार २६९ जनाले सेवा लिएका छन् । यसमध्ये १ हजार ४१० जनाले साधारण स्वास्थ्य परीक्षण गराएका छन् । शिविरबाट ४३ जना जेष्ठ नागरिकलाई निमोनियाँको खोप दिइयो। यस्तै ७८८ जनाको ल्याव परीक्षण गराइयो। यसमा व्लड सुगर, एल्बोमिन, हेमोग्लोविन, टीजी, कोलेस्ट्रोललगायतका परीक्षण गराइएको थियो।

महानगर दिवसको मूल समारोहसँगै चलाइएको शिविरमा २८ जनाको कोविड परीक्षणका लागि पिसीआर गरिएको थियो।

शिविरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्यकर्मीलाई खोप प्रदान गर्दै निमोनियाँ खोप कार्यक्रम सुरु गर्नुभएको थियो। त्यसपछि उहाँले रगतबाट मधुमेहको परीक्षण गराउनुभएको थियो। शिविरमा महानगरको स्वास्थ्य कार्यक्रमका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले, सरल, सहज स्वास्थ्य सेवाका लागि महानगरले यस क्षेत्रमा लगानी बढाएको बताउनुभयो । महानगरले सञ्चालन गर्ने सेवासँगै विशेषज्ञ स्वास्थ्य सेवाका लागि सरकारी र सामुदायिक अस्पतालको क्षमता विस्तारमा हाम्रो लगानी छ। यो लगानीबाट महानगरबासीलाई लाभ हुन्छ नै । उहाँहरुसँगै देशका विभिन्न ठाउँबाट उपचारका लागि काठमाडौँ आउनु हुने विरामी र परिवारलाई पनि सहज हुनेछ।

निमोनिया विरुद्धको खोप कार्यक्रम वडा स्तरबाट चल्नेछ । अहिले हामी खरिद प्रक्रियाबाट खोप प्राप्त गर्ने चरणमा छौँ । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ, ‘खोप प्राप्त गर्न करीव १ महिना अवधि चाहिएला । त्यसपछि हाम्रो कार्यक्रम चल्नेछ।’