नेपालमण्डल राष्ट्रिय गानको लागि कीर्तिपुर नगरपालिकालाई धन्यवाद ज्ञापन

Swoniga Online | २०७८ पौष ६, मंगलबार वर्गीकृत राष्ट्रिय

कीर्तिपुर नगरपालिकामा केही दिन अघिदेखि कार्यालयमा काम गर्नु अघि बिहान १० बजे राष्ट्रको सम्मानमा राष्ट्रिय गान गाउन शुरू गरिएको थियो । गत मंसिर७ गते मंगलबारदेखि शुरू गरिएको नेपालको राष्ट्रिय गानसँगै मंसिर ९ गते बिहीबारदेखि  कीर्तिपुर नगरपालिकामा नेपालभाषामा नेपालमण्डलको राष्ट्रिय गान पनि गाउन शुरू गरिएको थियो ।

नेपालमण्डल भनेको हालको बागमती प्रदेश नामकरण भएको क्षेत्र हो ।नेपालभाषामा नेपालमण्डलको “धुन दने धुन सँन्ह्यलं झी” बोलको राष्ट्रिय गान गाउन शुरू गरेकोले नेपालभाषाका विभिन्न संघसंस्थाहरू र नेपालभाषालगायत संस्कृति, सम्पदा अभियन्ताहरूले कीर्तिपुर नगरपालिकाको यस सकारात्मक कामको प्रशंसा गर्दै गत पुष १ गते नगर प्रमुख रमेश महर्जनलाई धन्यवाद् पत्र हस्तान्तरण गरेको छ।

नगर प्रमुख महर्जनले यो नेपालमण्डलको राष्ट्रिय गान गाउन पनि कर्मचारीहरूलाई नलाद्ने बताउनुहुँदै हाललाई हप्ताको एक दिनमात्र यो गान गाउन लगाउने विस्तारै विस्तारै प्रत्येक दिन नै गाउने प्रचलन गर्ने स्पष्ट पार्नु भयो। राष्ट्रिय गानको प्रार्थनामा बिना कारण सहभागी नहुने कर्मचारीहरूको भत्तामा कटौती हुने समेत नगर प्रमुख महर्जनले बताउनु भएको छ।

उप–प्रमुख सरस्वती खड्काले नेपालमण्डलको राष्ट्रिय गान एकै पटक सबैलाई कण्ठ नआउने भएकोले सबैलाई कण्ठ हुने वातावरण बनाइदिने बताउनुभयो ।झी कवि दुर्गालाल श्रेष्ठले रचना गर्नुभएको कीर्तिपुर नगरपालिका वडा नं. ७ भाजंगल निवासी तीर्थ मालीले संगीत दिनुभएको र कीर्तिपुर नगरपालिका वडा नं. ३ निवासी हरिशरण साय्मिले एरेञ्ज गर्नुभएको यस नेपालमण्डल राष्ट्रिय गान गाउने प्रचलन गरेको कीर्तिपुर नगरपालिका पहिलो पालिका भएको छ ।