पुनर्निर्माण प्राधिकरणबाट रानीपोखरी काठमाडौँ महानगरपालिकाको स्वामित्वमा हस्तान्तर

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ पौष ८, बिहिबार वर्गीकृत राष्ट्रिय

रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त पोखरीको स्वामित्व काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आज रानीपोखरी परिसरमै एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले स्वामित्व महागरपालिकालाई हस्तान्तरण गरेको हो । 

स्वामित्व हस्तान्तरण कार्यक्रमपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणको काम ०७२ सालमै महानगरपालिका आफैँले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पुनर्निर्माणको जिम्मेवारी दिएको बताउनुभयो।‘रानीपोखरी पुनर्निर्माणको काम ०७२ सालमै  महानगरपालिका आफैँले सुरु गरेको थियो। ०७४ सालमा आएपछि हामीलाई आरोप–प्रत्यारोप गर्ने काम भयो । मेयरले रानीपोखरी बेचेर खायो भन्ने आरोप पनि आयो,’ प्रमुख शाक्यले भन्नुभयो, ‘त्यसपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई बोलाएर तपाईँ यो विवादमा नफस्नुहोस्

अरु काममा लाग्नुहोस् । यसको पुनर्निर्माणको जिम्मेवारी प्राधिकरण लाई दिऔँ भन्नुभयो ।’ शाक्यले पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणले लिएपछि महानगरपालिकाको डिजाइन अनुसार नै पोखरी पुनर्निर्माण भएको बताउनुभयो । ‘त्यतिबेला पनि मैले प्रधानमन्त्रीज्युलाई रानीपोखरीको डिजाइन तयारी अवस्थामा छ । त्यहि अनुसार बनऔँ भनेको थिएँ । त्यो अनुसार हुन्छ भने मात्रै सहमति जनाउँछु भनेको थिएँ’ प्रमुख शाक्यले भन्नुभयो, ‘ हामी भने अनुसार नै काम गर्ने भनेपछि मैले त्यो प्रस्ताव कार्यपालिकामा राखेको थिएँ । केही साथीहरुले हामी आफैँ बनाऔँ पनि भन्नुभएको थियो । त्यतिबेला नै पुनर्निर्माणको काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्ने भन्ने सहमति भएको थियो । अहिले जुन रानीपोखरी बनेको छ, त्यो हाम्रो डिजाइन र सर्त अनुसार नै बनेको छ ।’ 

शाक्यले काठमाडौँ महानगरपालिकाको वडा १, २७ र २८ का अध्यक्षको अनुगमन समिति बनाएर काम अघि बढाएको पनि जानकारी दिनुभयो । ‘महानगरपालिकाकै सल्लाह अनुसार अजय स्थापितको नेतृत्वमा उपभोक्ता समिति बनाएर पुनर्निर्माण सम्पन्न गरेको हो,’ उहाँले भन्नुभयो, ‘सुरुमा पाँच जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौं महानगरपालिकाले रानीपोखरीसँग जोडिएका वडा–१, २८ र २७ का अध्यक्षहरुको समिति बनाएको थियो ।’ शाक्यले मन्दिर गुम्बज शैलीमा बनाउने भनिए पनि त्यसको ऐतिहासिक र पुरातात्विक महत्वलाई ध्यानमा राखेर इतिहासको खोजी गरी महानगरपालिकाकै प्रयासमा ग्रन्थकुट (खिशर) शैलीमै पुनर्निर्माण गरेको जानकारी दिनुभयो। ‘गुम्बज शैलीलाई शिखर शैली बनाउनुपर्छ भनेर निर्णय गर्ने काठमाडौँ महानगरपालिका हो,’ उहाँले भन्नुभयो, ‘हामीले एउटा पुरानो तस्बिर फेला पारेपछि शिखर शैलीमै पुनर्निर्माण गर्ने निर्णय गरेका थियौँ । लामो समय त्यो विषय विवादमा रह्यो। सबैको सल्लाह–सुझावअनुसार अन्तिममा त्यही शैली र स्वरुपमा पुननिर्माण गर्न सफल भएका छौँ । यो गौरवको कुरा हो ।’ 

राष्ट्रपति विद्यादेवी भणडारीबाट शिलान्यास भएको रानीपोखरी केही समय अघि उहाँबाटै उद्घाटन भएको थियो ।  ऐतिहासिक मात्रै होइन, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक प्रेम काहानीसँग पनि जोडिएको पोखरी विश्वका लागि पनि उदाहरणीय पोखरी भएको भन्दै शाक्यले पोखरी पुर्ननिर्माण सम्पन्न भइ हस्तान्तरण हुँदा आनन्दित भएको  बताउनुभयो । शाक्यले करीब ३ सय ६० वर्षअघिको सम्पदाको मौलिकता जोगाउँदै पुनर्निर्माण गर्ने काम चुनौतिपूर्ण भएको बताउनुभयो । 

रानीपोखरी पुनर्निर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ साल फागुन २० गतेबाट पुनर्निर्माणको काम शुरु भएको थियो ।  पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पनि काम प्राधिकरणले गरे पनि काठमाडौँ महानगरपालिकाकै सल्लाह अनुसार काम गरेको जानकारी दिनुभयो । ‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले प्राधिकरणले काम गर्यो भनेर दुःख मान्नुपर्दैन,’ ज्ञवालीले भन्नुभयो, ‘महानगरपालिकासँग सरसल्लाह अनुसार नै बनाएको हो ।’

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले सकेसम्म महानगरपालिकाले नै पुर्ननिर्माण गर्न पाएको भए हुने भन्दै प्राधिकरणले पुनर्निर्माण सम्पन्न गरेर आज हस्तान्तरण गर्दा खुशी लागेको बताउनुभयो । पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले पोखरी पुनर्निर्माणका लागि उपभोक्ता समितिमार्फत ८ करोड १५ लाख र पहिलो चरण अन्र्तरगतनै सौदर्यीकरण, बालगोपालेश्वर मन्दिर निर्माण, पुल निर्माणलगायतका लागि १७ करोड ४५ लाख गरी करीब २६ करोड लगानीमा रानीपोखरी निर्माण भएको जानकारी दिनुभयो ।