दाफा गायन तथा हार्माेनियम बाजा प्रशिक्षण

Swoniga Online | २०७८ पौष १४, बुधबार वर्गीकृत राष्ट्रिय

नेवाः मौलिक अमूर्त संस्कृति दाफा संस्कृतिलाई संरक्षण र संबद्र्धन गर्ने उद्देश्यका साथ कीर्तिपुरका विभिन्न दाफा खलःहरूलाई कीर्तिपुर नगरपालिकाले दाफा गायन र हार्माेनियम प्रशिक्षण शुरू गरेको छ। उक्त प्रशिक्षणको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले एक कार्यक्रमका बीच पानस प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख महर्जनले नेपालको संविधानद्वारा प्रदत्त संघीय संरचनाअनुसार तीन तहको सरकार रहेकोले जनतासँग प्रत्यक्ष सरोकार राख्ने नगरपालिका पहिले जस्तो निकाय नभई स्थानीय सरकार नै भएकोले यहाँका सबै क्षेत्रको विकास गर्नु पर्ने दायित्व रहेको बताउनु भयो । निर्वाचनका बेला आफूहरूले घोषणा गरे अनुसार नयाँ बस्तीहरूलाई व्यवस्थित गर्ने र पुराना बस्तिहरूलाई साँस्कृतिक शहरको रुपमा विकास गर्ने भन्ने कुरालाई ध्यानमा राखी यहाँका मूर्त अमूर्त सम्पदाहरूको संरक्षण र पुनर्निर्माणका कामहरू गरिरहेको बताउनुभयो।

उप–प्रमुख सरस्वती खड्काले यो तीन महिनाको हार्माेनियम प्रशिक्षण उपलब्धिमूलक रहोस् भनी कामना गर्नुहुँदै यो सिकाइ आफैलाई पनि राम्रो हुने र संस्कृतिको पनि जगेर्ना हुने बताउनु भयो । कीर्तिपुर नगरपालिकामा हालको जनप्रतिनिधि आउनु अघि जम्मा ११ वटा मात्र दाफा खलः सक्रिय रहेका थिए भने हालको जनप्रतिनिधि आइसकेपछि दाफाको महत्वलाई ध्यानदिई विभिन्न कार्यक्रम गरिएकोले हाल १७ वटा दाफा खलः सक्रिय रहेका छन् । नेपालभाषा एकेदेमि हलमा तीन महिनासम्म सञ्चालन हुने यस प्रशिक्षणमा तीर्थ माली, सुरेन्द्र श्रेष्ठ र राजेन्द्र महर्जनले प्रशिक्षण दिइरहनु भएको हो।

कार्यक्रममा प्रशिक्षण तीर्थ माली, कीर्तिपुर नगरपालिका वडा नं. २ का अध्यक्ष रमेशमान डंगोलले पनि आ–आफ्नो धारणा राख्नु भएको थियो भने कीर्तिपुर नगरपालिकाको नगर प्रमुख सचिवालयका विकास महर्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।