ज्ञवाली मन्त्रालय सरुवा ः महानगरबाट विदाइ कार्यक्रम आयोजना

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ पौष १४, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई आज विदाइ गरिएको छ । २०७६ पुस १८ गते महानगरमा पदवहाली गर्नुभएका ज्ञवाली २०७८ पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासनको निर्णयबाट सरुवा हुनुभएको हो । मन्त्रालयको त्यही दिनको निर्णयबाट महानगरमा लोकनाथ पौड्यालले प्रमुख प्रशासकीय अधिकृत पदमा वहाली गर्नुभएको छ। विदाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले निवर्तमान प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई ‘महानगर सेवा सम्मान’ र वुद्ध मूर्ति प्रदान गर्नुभएको थियो । कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्य, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष हीरालाल तण्डुकारसहित कर्मचारीहरु सहभागी हुनुहुन्थ्यो । 

२०७४ जेठ १७ गते जनप्रतिनिधिले पदवहाली गरेपछि महानगरबाट प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेर सरुवा भइ जानेमा उहाँ छैटौँ हुनुहुन्छ । जनप्रतिनिधिको पदबहालीका गर्दा ईश्वरराज पौडेल कार्यकारी अधिकृत हुनुहुन्थ्यो । त्यसपछि क्रमशः धनिराम शर्मा, यादव कोइराला, केदार न्यौपाने, एकनारायण अर्याल र ज्ञवालीले प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसक्नु भएको छ । उहाँहरुमध्ये कोइराला, न्यौपाने र अर्याल सचिव हुनुहुन्छ भने पौडेल, शर्मा र ज्ञवाली सहसचिव हुनुहुन्छ। यस्तै कोइरालाअघिसम्म कार्यकारी अधिकृत भनिन्थ्यो भने त्यसपछि प्रमुख प्रशासकीय अधिकृत भनिन थाल्यो।

पदस्थापन हुन आउने र जाने समयका बीचका केही समय सहसचिव ज्ञवालीले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसक्नु भएको छ।

विदाई कार्यक्रममा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, प्रमुख प्रशासकीय अधिकृतहरु समय समयमा परिवर्तन भइरहने हुँदा निर्णय कार्यान्वयन प्रक्रियामा असर पर्ने र महानगरलाई लक्ष्यमा पुग्न कठिन हुने बताउनुभयो । ‘मैले प्रमुख प्रशासकीय अधिकृत ल्याउन व्यक्ति छानेको छैन र सरुवा गरेर पठाउन कसैलाई भनेको छैन । आएका प्रशासकीय अधिकृतसँग समन्वय गरेको छु । कुरा बुझ्दा बुझ्दै पुरानोको सरुवा हुन्छ । नयाँ आउनेलाई कुरा बुझ्न समय लाग्छ ।’ महानगरले गर्नुपर्ने कामको लक्ष्यका विषयमा कुरा गर्दै मेयर शाक्यले, नीति, बजेट र कार्यक्रम तथा क्षमता भएर पनि महानगरलाई लक्ष्यमा पुग्न कठिन हुनुका कारणमध्ये प्रशासनिक नेतृतव गर्ने प्रमुख प्रशासकीय अधिकृतको बारम्बार सरुवा भइरहनु पनि एउटा भएको उल्लेख गर्नुभयो ।

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत पौड्यालले महानगरको लक्ष्य पूरा गर्न थोरै समयमा धेरै काम गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै सामुहिक प्रयासबाट लक्ष्यमा पुग्न प्रयास गर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनको कुरा चल्न थालेको छ । महानगरको वार्षिक लक्ष्य र कार्यक्रम कार्यान्वयनलाई तीब्र बनाएर जनप्रतिनिधिले जनतासँग गरेका वाचा पूरा गराउन प्रशासनिक नेतृत्वलाई समन्वयकारी बनाउनेछु । पौड्यालको भनाइ थियो । 

विदाइ भएर जानुहुने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, काठमाडौँ महानगरपालिका स्थानीय सेवा, सहरी विकास र व्यवस्थापनको विश्वविद्यालय भएको उल्लेख गर्नुभयो । आफूले गरेका महत्वपूर्ण कामको सम्झना गर्दै ज्ञवालीले भन्नुभयो, ‘करीव २ बर्षे कार्यकालमा महानगरको संगठन संरचना, कर्मचारीको सेवा शर्त सम्बन्धी ऐन, समायोजन ऐनमार्फत १ हजार ५५१ जना कर्मचारीको समायोजनजस्ता काम अविस्मरणीय रहे । विषयलाई प्रक्रियामा लैजाने र निर्णय गर्न जनप्रतिनिधिसँग समन्वयकारी भूमिका गर्न प्रशासनिक नेतृत्व गर्ने अवसर पाएँ । यो मेरालागि पनि अविस्मरणीय रहनेछ ।’  

कार्यक्रममा कर्मचारीहरुकातर्फबाट निर्देशकहरु महेशकुमार काफ्ले र वसन्त आचार्यले ज्ञवालीका कार्यकालमा भएका कामका बारेमा चर्चा गर्नभएको थियो । कर्मचारीको वृत्ति विकास तथा क्षमता विकास र महानगरको संस्थागत सुधारका लागि ज्ञवालीले व्यक्तिगत र संस्थागत दुवै प्रकारका प्रयत्न गर्नुभएको उहाँहरुको भनाइ थियो । 

कर्मचारी संघ संगठनकातर्फबाट स्थानीय तह कर्मचारी युनियन, महानगर एकाइका अध्यक्ष शिवजी भट्टराई र स्थानीय तह कर्मचारी संघ, महानगर एकाईका अध्यक्ष शम्भु बरालले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका पालामा कर्मचारी समायोजन गरेर पेशागत हितका लागि महत्वपूर्ण काम भएको धारणा राख्नुभयो । 

महानगरमा प्रमुख प्रशासकीय अधिकृत

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि महानगरबाट प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेर सरुवा भइ जानेमा ज्ञवाली छैटौँ हुनुहुन्छ । २०७४ जेठ १७ गते जनप्रतिनिधिले पदबहाली गर्दा ईश्वरराज पौडेल कार्यकारी अधिकृतका रुपमा हुनुहुन्थ्यो । त्यसपछि २०७४ श्रावण १९ को मन्त्री परिषद्को निर्णयबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा हुनु भएका धनीराम शर्मा श्रावण २९ गतेको उपप्रधानमन्त्री स्तरीय निर्णयबमोजिम महानगरको कार्यकारी अधिकृतका रुपमा आउनुभयो । 

२३७ दिन काम गरेर शर्मा चैत्र २० गतेको मन्त्री स्तरीय निर्णयबाट अर्थ मन्त्रालयअन्तर्गतको ठूला करदाता सेवा कार्यालयमा सरुवा भइ जानुभयो । यही दिन (चैत २०) महानगरमा का. मु. प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरकारका सचिव यादवप्रसाद कोइरालालाई पठाउने निर्णय भयो । यहाँबाट कार्यकारी अधिकृत पद प्रमुख प्रशासकीय अधिकृतमा परिर्वन भयो । यस्तै महानगरले विशिष्ट श्रेणीको प्रमुख प्रशासकीय अधिकृत प्राप्त ग¥यो । त्यस अघि सरकारले सहसचिव स्तरका कर्मचारीलाई यस पदमा पठाउने गरेको थियो । २०७५ बैशाख २ गते महानगरमा हाजिर हुनुभएका कोइराला २०७६ बैशाख ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवका रुपमा हाजिर हुनुभयो । 

२०७६ बैशाख २ गतेको मन्त्री परिषद्को निर्णयबाट कोइराला मन्त्रालय जानुभयो भने प्रदेश १ को प्रमुख सचिवका रुपमा कार्यरत केदार न्यौपाने प्रमुख प्रशासकीय अधिकृतका रुपमा महानगरमा आउनुभयो ।

नेपाल सरकार, मन्त्री परिषद्को २०७६ फागुन १८ गते बसेको बैठकले एकनारायण अर्याललाई प्रशासन सेवातर्फ राजपत्राङ्कित बिशिष्ट श्रेणीमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय ग¥यो । त्यसबेला उहाँ भारतको महावाणिज्य दूताबासमा हुनुहुन्थ्यो । त्यसबेला कोविड संक्रमण फैलिइसकेको हुनाले विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णयबमोजिम १५ दिनपछि चैत २४ गते महानगरमा हाजिर हुनुभयो । 

पूर्व प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने करीब १ महिना अघि नै भूमि व्यवस्था सहकारी तथा गरीबि निवारण मन्त्रालयमा सरुवा भएर गएपछि सहसचिव राजेश्वर ज्ञवालीले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दै आउनुभएको थियो ।   

२०७७ असोज २९ गते बसेको मन्त्री परिषद्को वैठकको निर्णयबाट अर्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवका सरुवा हुनुभयो । उहाँले कार्तिक २ गते मन्त्रालयमा पदबहाली गर्नुभएको थियो । त्यसपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत हुृँदै प्रमुख प्रशासकीय अधिकृतका रुपमा राजेश्वर ज्ञवालीले पदस्थापन गर्नुभएको थियो । 

२०७८ पुस ७ गतेको मन्त्रीस्तरीय निर्णयबाट ज्ञवाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा भइ जानुभएको हो भने लोकनाथ पौड्यालले पदबहाली गर्नुभएको हो