कोरोनासँग जति बढी हेलचेक्रयाईँ त्यति नै बढी मानवीय क्षतिः मेयर शाक्य

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ माघ ४, मंगलबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड विरुद्धको साझा लडाईँका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गर्नुभएको छ ।  काठमाडौँ महानगर वडा-२३मा आयाेजित एक कार्यक्रममा सम्वाेधन गर्दै सीसीएमसीसँग उहाँले यस्तो आग्रह गर्नुभएको हो । ‘पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले कोभिड–१९ संकट व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय गर्ने गरेको थियो,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका प्रमुख शाक्यले भन्नुभयो, ‘अहिले काठमाडौँ कोरोनाको हटस्पट बनेको छ । तर, सीसीएमसीले हामीसँग समन्वय गरेको छैन ।’

उहाँले त्यसबारे गृहमन्त्रीलाई समेत जानकारी गराएको स्मरण गराउनुभयो । ‘मैले गृहमन्त्रीज्युलाई संघीय सरकारले हामीलाई उपेक्षा गरेको हो कि भन्ने विषयमा जानकारी गराएको छु,’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । संघीय सरकारले गरेका सबै निर्णय कार्यान्वयन गर्ने थलो भनेको स्थानीय सरकार हो । त्यसैले संघीय सरकारले हामीसँग समन्वय र सहकार्य गरेर अघि बढेको खण्डमा कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गरेर अघि बढ्न सकिन्छ ।’

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले अघिल्लो पटक निशुल्क आइसोलेशन र क्वारेन्टीनहरु सञ्चालन गरेको र यो पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको बताउनुभयो ।  ‘हामीले त्यसका लागि गृहमन्त्रीज्यु, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक पर्यो भने तुरुन्तै निशुल्क आइसोलेशन र क्वारेन्टीनहरु सञ्चालन गर्न सक्छौँ ।’  

शाक्यले नेपाल मात्रै होइन अहिले विश्व नै कोरोनाको तेस्रो लहरले आक्रान्त बनेको स्मरण गराउनुभयो । ‘अहिले मुख्य गरेर काठमाडौँ उपत्यका ओमिक्रोनका रुपमा कोरोनाको तेस्रो लहरले बढी प्रभावित छ,’ उहाँले भन्नुभयो, ‘ घना वस्ती भएको ठाउँ भएका कारण यहाँका वासिन्दा स्वाभाविक रुपमा बढी प्रभावित छन् । यो बढी संक्रामक भएकाले छिटै संक्रमण फैलिन सक्ने भएकाले सबैलाई सतर्क रहन पनि म अपिल गर्छु ।’

उहाँले प्रदेश, स्थानीय र केन्द्र सरकारले पटक–पटक सतर्क रहन अपिल  गरे पनि आम मानिसले भने कोरोना केही होइन भन्दै अलिक बढी नै लापरवाही गरेको जस्तो देखिएको  बताउनुभयो । ‘अहिले कोरोना संक्रमण दर बढिरहेको अवस्थामा म पुनः काठमाडौँ महानगरवासी र उपत्यकावासीलाई बढी हेलचेक्रयाइँ नगरौँ भन्ने अपिल गर्न चाहन्छु,’ शाक्यले भन्नुभयो, ‘हामी स्वयंले सावधानी अपनाउने हो भने बढ्दो संक्रमण दरलाई कम गर्न सकिन्छ । हामीले रोग लाग्नु भन्दा पनि रोग नै लाग्न नदिने वातावरण निर्माण गर्नुपर्छ ।’

 विगतको अनुभवले जति बढी लापरवाही भयो त्यति नै बढी मानवीय क्षति भएको देखाएको उहाँले स्मरण गराउनुभयो । ‘विश्व स्वस्थ्य संगठनको मान्यता अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले जारी गरेका मापदण्ड पालना गर्दै सचेत र सतर्क रहन पनि म अपिल गर्छु,’ उहाँले भन्नुभयो, ‘यसो भयो भने हामीले धेरै हदसम्म मानवीय क्षति कम गर्न सक्छौँ र आफू पनि बच्न सक्छौँ ।’

उहाँले भोलिका दिनमा कुनै पनि आवश्यकता पर्यो भने काठमाडौँ महानगरपालिका भित्रका अस्पतालहरुसँग सहकार्य गरेर हिजोका दिनमा जस्तै अघि बढ्न महानगरपालिका तयार रहेको पनि उहाँले बताउनुभयो ।  ‘त्यसका लागि ती अस्पतालका केही आवश्यकता पूरा गर्दै क्षमतावृद्धि गरी कोरोनाविरुद्ध लड्ने कार्यमा आर्थिक–भौतिक सहयोग गर्न महानगरपालिका तयार छ,’ उहाँले भन्नुभयो, ‘त्योसँगै त्यहाँ कार्यरत नर्स–डाक्टरहरुको मनोवल बढाउन पनि महानरपालिका तयार छ । त्यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको अवस्था छ । महानगरवासीलाई थप केही जटिल भयो भने महानगरपालिकाका ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लीनिक र स्वास्थ्य विभागमा सम्र्पक गर्न पनि अपिल र्गछु ।’

उहाँले संघीय सरकारको निर्देशन र मापदण्ड अनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपङ्क्तिमा खटिएका, जेष्ठ नागरिकलगायतका लागि  खोपको तेस्रो मात्रा पनि महानगरले व्यवस्थापन गरेको भन्दै खोप लगाउन अपिल गर्नुभयो ।