सडकलाई आश्रय बनाउनेहरुलाई पारिवारिक पुनमिलन गराउने, विकल्प नभएकालाई आश्रममा आश्रय दिइने — मेयर शाक्य

Swoniga Online | २०७८ माघ ६, बिहिबार वर्गीकृत राष्ट्रिय

सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण गर्न काठमाडौँ महानगरपालिकाले नागार्जुन नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन हस्तान्तरण गरेको छ । आज रााष्ट्रिय सभा गृहमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । भवन निर्माणका लागि गएको असोज २० गते त्रिपक्षीय सम्झौता भएको थियो । यसका लागि काठमाडौँ महानगरपालिकाले २०७८ असोज १२ बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । यसैगरी नागार्जुन नगरपालिकाको असार २१ गते सम्पन्न नगरसभाले निर्णय गरेको थियो । 

नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक अनुदान दिने, यसबाट नागार्जुन नगरपालिकाले खरिद ऐनको प्रक्रिया अवलम्बन गरेर भवन निर्माण गर्ने र मानव सेवा आश्रमले सेवा सञ्चालन गर्ने गरी सम्झौता भएको थियो । यो सम्झौतापछि महानगरको सहरी योजना आयोगले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको थियो ।  

प्रतिवेदनअनुसार ९८४ बर्गमिटर प्लिन्थ एरिया भएको भवन १ हजार ९५४ बर्ग मिटर क्षेत्रफलमा निर्माण हुने भवनको लागत करीव ११ करोड रुपैयाँको हुनेछ । सहरी योजना आयोगका सदस्य सजीव शाक्यकाअनुसार भवनमा १ सय जना अट्ने एउटा, ४० जना अट्ने एउटा गरी २ वटा सभा कक्ष र २० जना अट्ने बैठक कक्ष हुनेछन् । १८० जना सहयोगापेक्षी राख्न सकिने भवनमा २६ जना स्वयमसेवक बस्न सक्नेछन् । भवनमा १० वटा कार र ४० वटा मोटरसाइकल अट्ने पार्किङ्ग सुविधा हुनेछ । प्राइभेट, सेमी प्राइभेट र पब्लिक गरी भवनलाई ३ भागमा बाँडेर प्रयोग हुनेछ । शाक्यकाअनुसार, सुरक्षा र गोपनीयताजस्ता विषयलाई ध्यानमा राखेर यस्तो डिजाइन गरिएको हो । सुत्ने कोठा र स्वास्थ्य उपचार कक्ष प्राइभेट अर्थात सबैको पहुँच नहुने गरी बनाइनेछ ।  

नागार्जुन नगरपालिका वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी जग्गामा नगरपालिकाकै नाममा आश्रम निर्माण गरिनेछ । भवनको नाम ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ हुनेछ । यहाँ रहने व्यक्तिहरुको लिंग, उमेर समूह, शारीरिक तथा मानसिक अवस्था, आवश्यकता र प्रकृतिजस्ता अवस्थाका आधारमा छुट््याएर अधिकतम मानवीयताको प्रवर्धन गर्ने गरी संरचना निर्माण गरिनेछ । 

विपन्न, अशक्त, असहाय, सडक सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनका लागि भवनको प्रयोग हुनेछ । यो उद्देश्यअनुसार भवनको व्यवस्थापन तथा प्रयोग हुन नसकेमा वा भवनको दुरुपयोग भएमा भवन फिर्ता हुनेछ । 

सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न र भविष्यमा मानव सेवा आश्रम संचालन व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन आवश्यक नीति तर्जुमा गर्ने, निर्णय गर्ने तथा कामकारवाहीलाई निर्देशन गर्ने उद्देश्यले काठमाडौँ महानगरका मेयरको संयोजकत्वमा ४ सदस्यीय निर्देशक समिति हुनेछ । समितिको सदस्यमा नागार्जुन नगरपालिकाका मेयर, मानव सेवा आश्रमका अध्यक्ष र काठमाडौँ महानगरपालिका वा नागार्जुन नगरपालिकाले तोकेका कार्यालयका विषयसम्वद्ध पदाधिकारी १÷१ जना रहनुहुनेछ । 

निर्देशक समितिले तोकेका पदाधिकारीहरु रहेको एक भवन निर्माण तथा व्यवस्थापन उपसमिति गठन हुनेछ । उपसमितिले निर्देशक समितिले तोकेबमोजिम काम गर्नेछ । 

डीपीआर हस्तान्तरण गरिसकेपछि बोल्दै मेयर शाक्यले, काठमाडौँमा जन्मिएर देशको स्वाधीनताका लागि प्राण आहुती गर्ने सहिद धर्मभक्त माथेकाका नाममा मानव सेवा आश्रम र प्रजातन्त्र प्राप्तिका लागि नेतृत्व गर्ने गणेशमानका नाममा पार्क निर्माण गर्न नागार्जुन नगरसँग हस्ताक्षर गर्न पाएको खुशी  लागेको बताउनुभयो । ‘शासन परिवर्तनको लाभ समुदायका तल्लो तहमा पुगोस् भन्ने उहाँहरुको चाहना थियो । उहाँहरुको चाहना पूरा गराउन हामीले वेसहारालाई खाना, नाना र छानासँगै स्वास्थ्य र शिक्षाका लागि लगानी गरेका हौँ । काम समयमा सकिएर लक्षित समूहले लाभ पाउनेमा मैलै विश्वाश गरेको छु ।’

‘सडकमा वेसहारा मात्र छैनन् । परिवारमा बस्न चाहिने नियन नमानेर स्वतन्त्र जीवन विताउन चाहने पनि छन् । हामी परिवार भएकालाई पारिवारिक पुनर्मिलन गराउने र विकल्प नभएकालाई निःशुल्क बास र खाना, स्वास्थ्य तथा आवश्यकताका आधारमा शिक्षा उपलब्ध गराउँछौँ ।’ मेयर शाक्यको भनाइ थियो । 

त्यस क्रममा नागार्जुन नगरका मेयर बस्नेतले, सहिदको बलिदानीबाट अहिलेको व्यवस्था प्राप्त भएकोले काठमाडौँ महानगरको सहयोगमा सहिदकै नाममा सामाजिक काम थालिएको बताउनुभयो । त्यस्तै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, दुई नगरको सहकार्यमा अगाडि बढेको योजना अन्तरसरकार साझेदारी कार्यक्रमको नमूना भएको उल्लेख गर्नुभयो । 

सडक सहयोगापेक्षी मानवरहित सहर बनाउने संकल्प गरेदेखि नै काठमाडौँ महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेपछि आफूहरुले सेवामा निर्धक्क हुन पाएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको भनाइ छ । वेसहारा मानिसहरु सहरका धेरै छन् । त्यसैले हाम्रा कार्यक्रम सहर केन्द्रीत छन् । यस क्रममा २४ वटा शाखाबाट सेवा दिइरहेका छौँ । अध्यक्ष अधिकारीको भनाइ थियो । 

महानगरले २०७४ मंसिर १ गते मानव सेवा आश्रमसँग सडकमा वेसहारा जीवन विताइरहेकाहरुको पालन पोषणमा सहयोग पु¥याउने उद्देश्यले सम्झौता गरेको हो । सहरका सडक किनारामा वेसहारा जीवन विताउने हरेक उमेर समूहका मानिसलाई उद्धार गरेर, आश्रममा लाने, सम्भव भए पारिवारिक पुनर्मिलन गराउने सहमतिबमोजिम काम भइरहेको छ । 

त्यसपछि महानगरका सडक पेटी तथा खुल्ला स्थानमा भेटिएका सवै उमेर समूहका, शारीरिक र मानसिक अवस्था जस्तोसुकै भएपनि, सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई उद्धार गर्ने, उपचार तथा पालनपोषण गर्ने, आधारभूत आवश्यकता परिपूर्ति गरिदिने, शिक्षा दीक्षा दिने काम आश्रमले गरिरहेको छ । यसबापत् महानगरले वडा नं. २६ सामाखुशीमा आश्रम सञ्चालन भएको एउटा र बुढानिलकण्ठ नगरपालिका वडा नं. १ नीलो पुलमा सञ्चालित एउटा गरी २ वटा घरको मासिक बहाल तिर्दै आएको छ । यसै गरी उद्धार कार्यमा प्रयोग गर्न एउटा सवारी खरिद गरिदिएको छ ।