जनताका लागि गरिने काममा अस्वस्थ्य प्रतिस्पर्धा हुनुहुँदैन — मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ फाल्गुण ३, मंगलबार वर्गीकृत राष्ट्रिय

काठमाडौँको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास भएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेश द्वारको आज महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ र दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) सहित पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

दक्षिणकाली मन्दिरलाई व्यवस्थित गर्न ६ वटा क्षेत्रमा काम हुँदैछ । नगर—नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरबाट प्राप्त अनुदानबाट नगरपालिकाले यो परियोजना अगाडि बढाएको हो । यो बर्ष सञ्चालन हुने परियोजनाको लागत १ करोड २४ लाख रुपैयाँ रहेको थियो । खुल्ला प्रतिस्पर्धाबाट ठेक्केदारले ८६ लाख ३३ हजार रुपैयाँमा निर्माण कबोल गरेको छ । 

शिलान्यासपछि बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, जनताले उपभोग गर्ने वा जनताले लाभ पाउने कुरामा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने बताउनुभयो । ‘काठमाडौँ उपत्यकाका समस्याहरु एउटै छन् । एउटा ठाउँलाई छोडेर अर्को ठाउँ मात्र विकास गर्छौँ, भनेर काम गर्दा खण्डीकृत हुन्छ । हामी उपत्यकाको एकीकृत विकास गर्न चाहन्छौँ । यसका लागि नगरहरुकाविचमा सहकार्य आवश्यक थियो । त्यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरले नेतृत्व गरिरहेको छ ।’ मेयर शाक्यले भन्नुभयो, ‘हामीले काठमाडौँका सवै पालिकासँग सहकार्य गरेपछि भक्तपुरका २ वटा नगरसँग साझेदारी सहयोग ग¥यौँ । यसै गरेर एक प्रदेश एक भगिनी सहरको नीति लियौँ । त्यसअनुसार विभिन्न ५ वटा नगरसँग भगिनी सम्बन्ध स्थापना भएको छ । ती नगरलाई पनि पार्क निर्माण गर्न अनुदान सहयोग गरेका छौँ । पहिले लिएका नीति र कार्यक्रमलाई असर नहुने गरी थप सहयोग गर्न तयार छौँ ।’

त्यस क्रममा दक्षिणकाली नगरका मेयर मोहन बस्नेतले, काठमाडौँ महानगरले उदार भएर छिमेकी नगरको भौतिक समृद्धिमा सहयोग गरेको उल्लेख गर्नुभयो । ‘काठमाडौँका जनतालाई आवश्यक पर्ने उत्पादन तथा सामग्री हाम्रो नगरमा छन् । हामी पनि महानगरका जनताको समस्या समाधानमा सघाउन चाहन्छौँ ।’

सबै नगरहरुको समृद्धिलाई साथमा लिएर काठमाडौँ महानगरपालिका अगाडि बढेको बताउँदै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सहरी विकासका सानातिना समस्या समाधान गर्ने हो भने ठूला र जटिल ठाउँमा पुग्नै नपर्ने धारणा राख्नुभयो । ‘महानगर एक्लै समृद्ध भएर हुँदैन । यो अनुभूति गरेर हामीले साझेदारी कार्यक्रमलाई बढाएका हौँ । महानगरमा पार्क बनाउने जग्गा छैन छिमेकी नगरमा जग्गा छ । अब महानगरका जनता छिमेकी नगरमा घुम्न जाने संस्कार बनाउन चाहन्छौँ ।’

दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) ले साझेदारी कार्यक्रमलाई नजिकबाट अनुभव गर्न पाएको धारणा राख्नुभयो । ‘काठमाडौँ महानगरले साना नगरहरुलाई उदार मनले विकासमा अगाडि बढायो । हाम्रै सन्दर्भमा दक्षिणकाली मन्दिर पूर्वाधार विकासमा सहयोग ग¥यो । यसबाट देखाउन सकिने काम गर्न पाइएको छ ।’

नगर साझेदारी कार्यक्रमअन्तर्गत प्राचीन दक्षिणकाली क्षेत्रमा पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम थालनी भएको छ ।