रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषाको स्नातकोत्तर तह सञ्चालन गर्न १५ लाख रुपैयाँको चेक हस्तान्तरण

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ फाल्गुण १८, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा नेपाल भाषाको स्नातकोत्तर तह सञ्चालन गर्न आर्थिक सहयोग थालेको छ । आज महानगरका मेयर विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि मेयर शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

गएको कार्तिक १६ गते बसेको महानगरको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन महानगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

संविधानले मौलिक अधिकारका रुपमा राखेको स्वास्थ्य र शिक्षाका क्षेत्रमा माग र आवश्यकताका आधारमा महानगरले लगानी गरेको छ । सम्झौता र चेक हस्तान्तरणपछि बोल्दै मेयर शाक्यले भन्नुभयो, ‘हामी सरकार हौँ । शिक्षाको प्रवर्धनका लागि जिम्मेवारी लिन्छौँ।

हामीसँग नेपाल भाषा अध्ययन गर्न छात्रवृत्तिका लागि माग भएको थियो । त्यो माग सुनेपछि हामीले सरकारकै शैक्षिक संरचनालाई सहयोग गरेर धेरै विद्यार्थीलाई लाभ पुग्ने गरी सहयोग गर्ने निर्णय ग¥यौँ । आधारभूत तहमा नेपाल भाषा पढाउन थालेपछि आकर्षण बढेर गयो । यसलाई माथिल्लो तहसम्म पु¥याउन हामीले पैसा दिएका छौँ । यसलाई नियमित र दिगो बनाउने जिम्मा क्याम्पसको हो ।’

स्थानीय भाषा जोगाउन स्थानीय सरकारको दायित्व पूरा गर्दै हामीले रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा पढाउन सहयोग गरेका हौँ । सम्झौता अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, आधारभूत तहदेखि स्नातकोत्तर तहसम्म नेपाल भाषा अध्ययन अध्यापन गर्न महानगरको सहयोग रहेको बताउनुभयो । यसबाट स्थानीय चाडवाड, जात्रा पर्व, संस्कार, संस्कृति बुझ्न सहज हुने उहाँको विश्वाश थियो ।

स्नातक तह सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले सहयोग गरेको थियो । पछि विद्यार्थीहरु नभएपछि कार्यक्रम रोकिएको थियो । गएको ३ बर्ष अघि २५ जना विद्यार्थीले अध्ययन गर्न पाउन संयुक्त निवेदन दिएका थिए । क्याम्पसमा नेपाल भाषा अध्यापनको अवस्थाका विषयमा जानकारी गराउँदै क्याम्पस प्रमुख ज्ञवालीले भन्नुभयो, ‘विद्यार्थी आए तर कक्षा सञ्चालन गर्न पूर्वाधार भएन । त्यसपछि रोकिएको कक्षा चलाउन स्थानीय सरकारको जिम्मेवारी ठानेर महानगरसँग प्रस्ताव राख्यौँ । हाम्रो प्रस्तावमा महानगर सकारात्मक भएपछि रोकिएका कक्षा पुनः सञ्चालन हुन सकेका हुन् ।’ उहाँकाअनुसार अहिले स्नातकोत्तर तहमा २२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

महानगरले उपलब्ध गराएको रकम भवनको भौतिक संरचना निर्माण गर्ने, २ जना शिक्षकलाई तलब दिने, पुस्तकालय निर्माण गर्ने र प्रशासकीय काम गर्ने प्रयोजनमा खर्च गर्नुपर्नेछ ।