अमूर्त सम्पदाको धेरै पक्ष छन्, ती सबै पक्षको अभिलेखीकरण र संरक्षणमा हाम्रो ध्यान छ — मेयर शाक्य

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ फाल्गुण १८, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरको वडा २३ मा बस्ने ख्याल प्याखँ र दवूँ प्याखँका कलाकारलाई सम्मान गरिएको छ। वडाको आयोजनाले गरेको कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्मान प्रदान गर्नुभएको हो । 

सम्मानपछि बोल्दै मेयर शाक्यले, अमूर्त सम्पदाको अभिलेखीकरण र संरक्षणमा महानगरले ध्यान दिएको बताउनुभयो। ‘मूर्त सम्पदा र अमूर्त सम्पदाविच अभिन्न सम्बन्ध हुन्छ । अमूर्त सम्पदा आफैँभित्र पनि धेरै पक्ष हुन्छन् । मूर्त सम्पदाको क्षति देखिन सक्छ । अमूर्त सम्पदा क्षति तत्काल नदेखिन सक्छ। त्यसैले अमूर्त सम्पदा सम्बन्धी अभिलेखीकरण र संरक्षणमा हामीले कार्यक्रम सञ्चालन गरेका छौँ ।’

त्यस क्रममा वडाध्यक्ष मचाराजा महर्जनले, परम्परागत चालचलन जोगाउन आफूले काम गरिरहेको बताउनुभयो । पहिले मनोरञ्जनका लागि डवलीमा परम्परागत नाच देखाउने गरिन्थ्यो । प्रविधिको विकाससँगै परम्परागत मनोरञ्जनका विधिहरु ओझेलमा परेका छन् । यसलाई बचाउन कलाकारहरुलाई सम्मान गरेका हौँ । वडाध्यक्ष महर्जनको भनाइ थियो ।

त्यस अवसरमा ५५ जना कलाकारलाई सम्मान गरिएको थियो । ख्यालः प्याखँ र दबू प्याखँमा महिलाको भूमिकामा पुरुषहरुले नै अभिनय गर्ने चलन छ । बाद्यबादकले बजाएको बाजाको ताल र सुरमा नाच प्रस्तुत गर्ने गरिन्थ्यो । यसप्रकारका परम्परागत नाच, बाद्य सामाग्री, श्रृङ्गार, पोशाकको मौलिकता जोगाउन महानगरले कार्यक्रम सञ्चालन गरिरहेको छ।