वडापाखे सम्पन्न ज्या एकीकृत संगालो महानगरको प्रगति हो — मेयर शाक्य

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ फाल्गुण १९, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरको वडा ६ सिमलटार महामृत्युञ्जय मन्दिर परिसरमा किरियापुत्री भवन उदघाटन भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्य, संघीय संसद सदस्य कृष्ण राई, वडाध्यक्ष दीपेन्द्र लामाले किरियापुत्री भवन र जय गुरुदेव भवन उदघाटन गर्नुभएको हो । 

संसद विकास कोष, महानगरपालिका, बौद्धनाथ क्षेत्र विकास समिति, उपभोक्ता समितिको लागत सहभागितामा २ तले भवन निर्माण गरिएको हो । भवनमा एक पटकमा ५ वटा परिवारले किरिया गर्न सक्छन् । भवन उदघाटनपछि बोल्दै मेयर शाक्यले, वडा क्षेत्रमा पार्क तथा हरियाली प्रवर्धनका लागि धेरै काम भएको उल्लेख गर्नुभयो । ‘

वडाबाट सम्पन्न कामहरुको एकीकृत संगालो महानगरको प्रगति हो । हामीले वडा समितिबाट हुने कामका लागि सहजीकरण गरेका छौँ । माग भएका योजनाहरु प्राथमिकताका आधारमा स्वीकृत गरेका छौँ ।’ मेयर शाक्यले भन्नुभयो, ‘तत्काल नगरि नहुने कुनै काम छन् भने ती कामहरु गर्न अझै पनि समय छ । सार्वजनिक जग्गा संरक्षण गर्न र पार्क बनाउने कामलाई प्राथमिकता दिऔँ ।’

त्यस क्रममा संघीय संसद सदस्य कृष्ण राईले, सहभागिताबाट गरिने कामहरुबाट धेरैले स्वामित्व लिन सक्ने धारणा राख्नुभयो । महामृत्युञ्जय मन्दिर परिसरमा भएका संरचना र तिनको स्वामित्व यसको उदाहरण हो । संसद सदस्य राईको भनाइ थियो ।  

सिमलटार क्षेत्र यस अघि पिछडिएको थियो । हामीले यस क्षेत्रको पूर्वाधार सुधारका लागि प्रयास गरेका छौँ । उदघाटन अवसरमा वडाध्यक्ष दीपेन्द्र लामाले, टोल टोलमा गएर विकासका माग सुनुवाई गर्ने प्रयास गरिरहेको बताउनुभयो । 

२ तले भवन करिब १२ लाख रुपैयाँमा निर्माण गरिएको हो ।