खेलमार्फत स्वच्छ सहरी आचरण निर्माण गर्न लगानी बढाएका छौँ — मेयर शाक्य

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ फाल्गुण २०, शुक्रबार वर्गीकृत खेलकुद

सद्भावपूर्ण प्रतिस्पर्धाबाट देश—देशकाबिचको सम्बन्ध मजबुत हुने बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, युवाको वृत्ति बिकासका लागि खेललाई महानगरले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

हिजो शंखपार्कसँग जोडिएको पाकिस्तान एम्बेसी ग्राउण्डमा टि—ट्वान्टी क्रिकेट खेलको उद्घाटन गर्दै मेयर शाक्यले खेलमार्फत स्वच्छ सहर निर्माणमा महानगरले लगानी गरिरहेका बताउनुभयो ।

‘महानगरले फुटबल, क्रिकेटलगायतका खेललाई प्रत्यक्ष सहयोग गरेको छ ।’ मेयर शाक्यले भन्नुभयो, ‘नेपालमा क्रिकेटको बिकास र विस्तार सन्तोषजनक छ । यसबाट राष्ट्रिय गौरव बढाउन थप काम गर्नुपर्छ । युवा शक्तिलाई सकारात्मक काममा लाग्न प्रेरणा गर्ने भनेको खेल हो ।’

नेपालका लागि पाकिस्तान दूताबासले आयोजना गरेको यो सातौँ संस्करणको खेल हो । 

उद्घाटन कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानका राजदूत शैयद हाइदर शाहले, कोविडको महामारीपछि क्रमशः खेलका कार्यक्रमहरु बढ्दै गएको बताउनुभयो । ‘नेपालमा क्रिकेटप्रतिको मोह बढ्दो छ । हामीले आयोजना गरेको खेलबाट दुई देशका युवाविच मैत्री सम्बन्ध स्थापना हुने आशा गरेका छौँ ।’ राजदूत शाहको भनाइ थियो । 

प्रतिस्पर्धामा १२ टीम छन् । ४ समूहमा विभाजन गरेर एउटा समूहमा २ वटा खेल खेलाइनेछन् । यसबाट शीर्ष स्थान प्राप्त गर्ने टीम सेमिफाइनलमा पुग्नेछन् । सेमी फाइनलका विजेताले फाइनल प्रतिस्पर्धा गर्नेछन् । खेल फागुन २६ गते सम्पन्न हुनेछ।