हामीले नेतृत्व लिएका छौँ, गुठीयार र सरोकारवालाको सहभागितामा सांस्कृतिक सहरको जीवन्तता बचाउने काम गरिरहेका छौँ — मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ फाल्गुण २०, शुक्रबार वर्गीकृत राष्ट्रिय

अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुननिर्माणका लागि शिलान्यास भएको छ । काठमाडौँ महानगरको वडा २७ भोटाहिटीमा रहेको देव घर बनाउन आज महानगरका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो । यस देव घरमा असन चोकमा रहेकी अन्नपूर्ण अजिमाका गरगहना, देवीको जात्रामा निकालिने मूर्तिहरु, त्यससँग सम्बन्धित बाजागाजा र सामग्री राख्ने गरिन्छ । यस्तै बाजा प्रशिक्षण, सम्बन्धित गुठीयारहरुको बैठकलगायतका काममा घरको प्रयोग हुने गरेको छ । महानगरले यसको पुननिर्माणका लागि पहिले नै प्रयास गरेको थियो । गुठीयारविच भएको मतभेदका कारण काम अघि बढ्न सकेको थिएन । 

शिलान्यासपछि बोल्दै मेयर शाक्यले, सांस्कृतिक सम्पदाहरुको मर्मत सम्भार र पुननिर्माणका लागि गुठीयारको स्रोतले नपुग्ने देखेपछि राज्यकातर्फबाट महानगरले सहयोग गरेको उल्लेख गर्नुभयो । ‘हामीले सम्पदा पुननिर्माण गर्न लगानी गर्छौँ भनेर कार्यकालको सुरुदेखि नै भनेका थियौँ । त्यसबेला महानगरले लगानी गरेपछि सांस्कृतिक संरचना आफैँ लिन्छ भनेर भ्रम फैलियो । हामीले त्यसो भनेका थिएनौँ । पुननिर्माण गरेर सञ्चालन व्यवस्थापनका लागि सम्बन्धित गुठीयारलाई नै जिम्मा लगाउँछौँ भनेका थियौँ । गुठीयारहरुले अहिले कुरा बुझ्दै हुनुहुन्छ । त्यसैले मागको चाप पनि बढेको छ ।’ 

सम्पदा पुननिर्माण गर्न आफूले लगानी गर्न खोजेर पनि काम गर्न नपाएको प्रसङ्गमा मेयर शाक्यले, यिटा चपाः (सार्वजनिक घर) को उदाहरण दिनुभयो । ‘हामीले कोविड आएपछि आइसोलेसनको कुरालाई महत्व दियौँ । तर, नेपाल मण्डलमा बाहिरबाट आउने जानेले आइसोलेसनमा बस्ने परम्परा पहिले देखि थियो । यिटा चपा यसको जीवन्त प्रमाण हो । हामीले यसको पुननिर्माण गर्न चाह्यौँ तर सकेनौँ । यसको कारण भनेको स्वामित्व गुठी संस्थानसँग हुनु हो । गुठी संस्थान न आफूले बनायो न हामीलाई बनाउन सहमति दियो । त्यसैले अहिले महत्वपूर्ण ठाउँमा भएर पनि वेवारिसे जस्तो भएको छ ।’

‘सम्पदा पुननिर्माणमा हाम्रो कार्यकालमा जति अरु समयमा काम भएको छैन । भित्री र बाहिरी सहरी बस्तीको अवस्था, सामाजिक परिवेशअनुसार नवनिर्माण र पुननिर्माणमा काम गरेका छौँ ।’ शाक्यले भन्नुभयो, ‘काठमाडौँको इतिहास सम्पदासँग जोडिएको छ । यसलाई बचाएर पर्यटन व्यवस्थापनसँग अन्तरसम्बन्धित गराउँछौँ ।’

तहगत सरकारका जिम्मेवारीमध्ये संस्कृति, सम्पदा, भाषा, कला, साहित्य बचाउने जिम्मा स्थानीय सरकारकै हो । उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘हामीले सम्पदा बचाउन लिएको नीति कार्यान्वयन भएको छ । यसका परिणामहरु आउन छन् । बाँकी रहेका सम्पदा बचाउनु र नासिएकालाई पुनस्र्थापना गर्नुलाई  हामीले जिम्मेवारीका रुपमा लिएर काम गरिरहेका छौँ ।’   

भित्री सहरी क्षेत्रमा काठमाडौँको मौलिक परम्परासँग जोडिएका बस्ती छन् । भौतिक संरचना छन् । तिनलाई जोगाउनु हाम्रो प्रमुख काम हो । वडाध्यक्ष चिनियाँमान बज्राचार्य भन्नुहुन्छ, ‘जीर्ण भएर बनाउनु पर्ने अवस्थामा पुगेका सबैजसोमा काम थालिएको छ । कतिपयको पुननिर्माण सकिएको छ भने कतिपय निर्माण सम्पन्नताको चरणमा छन् ।’

असं भलु अजिमासँग सम्बन्धित धार्मिक सांस्कृतिक गतिविधिहरु ज्यापू, तुलाधर, शाक्य र बज्राचार्यले सञ्चालन गर्छन्। देवघरको पुननिर्माण अन्नपूर्ण द्यः छेँ उपभोक्ता समितिले गर्नेछ । समितिका अध्यक्ष रमेश महर्जनकाअनुसार देव घरको पुननिर्माण २०७९ पुस मसान्तसम्ममा सक्ने लक्ष्य छ । २ आना २ दाम जग्गामा निर्माण हुने भवन ४ तलाको हुनेछ । 

यसको पुननिर्माणका लागि महानगरले करिब ७६ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसमा जनसहभागिता थपिनेछ।महर्जनकाअनुसार नेपाल संवत ९३१ मा देवघर पुननिर्माण भएको शिलापत्र पाइएको छ । यसको निर्माण कहिले भएको हो, मिति पाउन सकिएको छैन।