सम्पदा संरक्षणमा सरकार छ भन्ने महसुस गराउन चाहन्छौँ—मेयर शाक्य

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ फाल्गुण २२, आइतबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले धर्मकीर्ति महाविहारको विस्तारित भवन उदघाटन गर्नुभएको छ । वडा २५ स्थित श्रीघः, नघलमा पुननिर्माण सम्पन्न भएको भवनको मेयर शाक्यले उदघाटन गर्नुभएको हो । भवन पुननिर्माण गर्न २०७७ मंसिर २० गते मेयर शाक्यले शिलान्यास गर्नुभएको थियो । भवन उदघाटन अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडाध्यक्ष नीलकाजी शाक्यसहित पदाधिकारी सहभागी हुनुहुन्थ्यो । 

भवन उदघाटन गरिसकेपछि मेयर शाक्यले, क्वाःपा, द्यःछेँ, बहाल, बही, सत्तल जस्ता गुठीले सञ्चालन गरेका सांस्कृतिक सम्पदा संरक्षण गर्न सरकार भएको महसुस गराउने प्रयास गरेको बताउनुभयो । गुठी परम्परालाई जीवन्त बनाउन समुदायको कामलाई राज्यकातर्फबाट महानगरले साथ दिन्छ । यस्ता सांस्कृतिक सम्पदा पुननिर्माण गरेर सञ्चालन व्यवस्थापनका लागि हामीले गुठीलाई नै हस्तान्तरण गर्ने गरेका छौँ । गुठीको स्वामित्व र क्रियाकलापमा हाम्रो कुनै हस्तक्षेप छैन । मेयर शाक्यको भनाइ थियो । 

‘बुद्ध दर्शनको प्रवर्धनका लागि हामीले बज्रयानी, थेरवादी र महायानी विहारको पुननिर्माण तथा त्यहाँ हुने कार्यक्रमका लागि सहयोग गरिरहेका छौँ । महानगरको सहयोगमा निर्माण भएको अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रमा धम्महल भवन उदघाटन गरिसकेका छौँ । बागबजारको बुद्ध विहार पुननिर्माण भइसकेको छ । यसको उदघाटन हुँदैछ ।’ मेयर शाक्यको भनाइ थियो । 

स्थानीय सरकार भनेको स्थानीय स्तरमा भएका सानातिना समस्या समाधान गर्न र स्थानीय पहिचान बचाउनका लागि हो । कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘सम्पदा संरक्षण गर्ने कुनै पनि योजना प्रस्तावका रुपमा आउँदा बैठकमा मतभेद हुँदेन । सर्वसम्मतले स्वीकृत गछौँ । वुद्ध दर्शनले हामीलाई विश्वभर चिनाएको छ । यो हाम्रो सम्भावना हो ।’

सम्पदाको निरन्तरताका लागि गुठीयारहरुसँग जग्गा भए काठमाडौँ महानगरपालिकाले भौतिक संरचना निर्माण गरिदिन्छ । योजना लिएर आउनोस् । उपमेयर खड्गी श्रेष्ठको भनाइ थियो । 

विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रुपैयाँ हो । त्यसमध्ये पहिलो चरणमा करिब १ करोड लागतमा काम भएको थियो । यस चरणमा लागेको ९९ लाख ९९ हजार १६५ रुपैयाँमध्ये १५ प्रतिशत अर्थात् १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोरेको थियो । बाँकी ८५ प्रतिशत अर्थात् ८४ लाख ९९ हजार २९० रुपैयाँ महानगरको सहयोग हो । 

त्यसपछि गएको पुस १८ गते थप २ करोड १८ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको थियो । 

महानगरले २०७७ साउन महिनामा विहारको सभा कक्षलाई आवश्यक पर्ने ध्वनी र उज्यालो व्यवस्थापन गर्न ६८ थान सामान तथा उपकरण र १ रोल केबल प्रदान गरेको थियो । यसरी उपलब्ध गराइएका सामानमा साउण्ड मिस्क्चर, माइक, बेबी लाइट लगायत थिए । महानगरले उपलब्ध गराएका यी सामानको प्रयोगले प्रवचनमा आउने स्थानीयलाई प्रवचन कक्षमा बस्न, बोलेको कुरा सुन्न सजिलो भएको छ