add

स्थानीय तहको चुनावमा उम्मेदवार बन्नेहरुमा शिक्षकबाट राजीनामा

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १८, आइतबार वर्गीकृत राष्ट्रिय

३० वैशाखमा हुने स्थानीय तहको चुनावमा उम्मेदवार बन्नेहरुमा शिक्षकबाट हालै राजीनामा दिनेहरु पनि छन् ।

चुनावको मिति घोषणा भएपछि ओखलढुंगामा मात्रै १२ जना शिक्षकले राजीनामा दिएका थिए । तीमध्ये पाँच जना वडाध्यक्षको उम्मेदवार बनेका शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुंगाले जनाएको छ ।

इकाइका प्रमुख नेत्र गजुरेलले भने ‘अहिलेसम्म पाँच जना शिक्षक तथा कर्मचारी विभिन्न दलबाट उम्मेदवार बन्नुभयो भनेको सुनेको छु । अरु पनि फिल्डमा हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ । उहाँहरुको के भो जानकारी पाएको छैन ।’

निर्वाचन आयोगले सरकारी सेवा सुविधा लिइरहेका व्यक्ति स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेपछि शिक्षकहरुले राजीनामा दिएर उम्मेदवार बनेका छन् ।

खोटाङमा पनि २५ चैतयता सात जना शिक्षकले राजीनामा दिएको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले जानकारी दिएको छ । व्यक्तिगत कारण देखाएर राजीनामा दिएका शिक्षकमध्ये केही उम्मेदवार बनेको जानकारी पाएको इकाइ प्रमुख सेमन्त गौतमले जानकारी दिए ।

इकाइ प्रमुख नन्दलाल पौडेलले ठूलो संख्या नदेखिए पनि शिक्षक पदबाट राजीनामा दिएर राजनीतिमा लाग्ने प्रचलन देखिएको बताए । ‘पहिला नै राजीनामा दिएका चार जनाले पनि टिकट पाए भनेको सुनेको छु’ उनले भने ।

धादिङमा चुनाव घोषणा भएपछि ८ जना शिक्षकले राजीनामा दिएका थिए । तीमध्ये तीन जना उम्मेदवार बनेका छन् ।