नविल र काठमाडौँ महानगरविच शौचालय सार्वजनिक प्रयोगमा ल्याउनसम्झौता

Swoniga Online | २०७९ जेठ २६, बिहिबार वर्गीकृत राष्ट्रिय

नविल बैङ्कको कार्यालयमा भएका शौचालय सार्वजनिक प्रयोगमा आउने भएका छन्। यस सम्बन्धी काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहविच सम्झौता पत्रमा हस्ताक्षर भयो। सम्झौताबमोजिम बैङ्कले सार्वजनिक शौचालय लेखेको संकेत चिन्ह स्पष्ट देखिने गरी राख्नेछ । यस बोर्डमा बैङ्कले सार्वजनिक उत्तरदायित्वअन्तर्गत काठमाडौँ महानगरपालिका र नविल बैङ्क लिमिटेडको सहकार्यबाहेक अन्य कुनै पनि प्रकारका प्रचार सामग्री राख्न पाउनेछैन। 

सम्झौता आउँदो ५ बर्षका लागि हो। यस अवधिमा वैङ्कले केन्द्रीय कार्यालय र शाखा कार्यालयका शौचालय सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछ। यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा बैङ्ककै हुनेछ। वैङ्कले सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्नेछैन।

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १÷१ जना प्रतिनिधि तोक्नेछ। उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन्। 

सम्झौतापछि बैङ्कका प्रतिनिधि मण्डलले महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग भेटेर आफू महानगरसँग नजिक रहेर दायित्व बहन तत्पर रहेको बताउनुभएको थियो। 

काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिन्ह तयार पारेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो। 

गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ। संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।