सम्पदाको संरक्षण, संस्कृतिलाई आर्थिक विकाससंग जोड्ने छु : राजेश शाक्य

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ कार्तिक २२, मंगलबार वर्गीकृत राष्ट्रिय

राजेश शाक्य, जसको परिचय नै २०७२ साल वैशाख १२ गतेको भूकम्पले लडेको ७ औं शताब्दीको संरचना काष्ठमण्डप ठड्याउनुसँगै जोडिएको छ। शाक्यले अहिले पुनः वागमती प्रदेशसभा सदस्यको लागि नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दिनुभएको छ । पार्टीबाट अघिल्लोपटक निर्वाचित ५८ जना सांसदमध्ये अहिले पुनः उम्मेदवारी दिने अवसर पाउने १७ जनाभित्र उहाँ पनि पर्नुभएको छ ।

देशको संघीय राजधानी काठमाडौं, त्यसमाथि हनुमानढोका, वसन्तपुर र काष्ठमण्डप रहेको भित्री काठमाडौंको क्षेत्र नं ८ (१) बाट उम्मेदवारी दिएका शाक्यको अघिल्लो पटक सांसद हुँदा अधिकांश समय काष्ठमण्डप पुनःनिर्माणमै बितेको थियो । त्यसले गर्दा शाक्यको नाम लिँदा र सुन्दा मानिसको मस्तिष्कमा काष्ठमण्डपको दृश्य पनि सँगै आउने स्थिति पैदा भएको हो ।

आजको काठमाडौंको नाउँ काठै काठले बनेको काष्ठमण्डपबाट बनेको इतिहासकारहरूको भनाइ छ । भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको दुई, तीन वर्षसम्म पनि त्यसको पुनःनिर्माण कार्य सरकारी प्राथमिकतामा नपर्दा कला, कृति र वास्तुकलाको बेजोड नमूना रहेको सम्पदामाथि सरकारले गौरव गर्न नसकेको हो कि भन्ने चर्चा निकै चलेको थियो । यसबीचमा भएको प्रदेशसभाको पहिलो निर्वाचनताका शाक्यले काष्ठमण्डप पुनःनिर्माणलाई आफ्नो प्रतिबद्धताको पहिलो सूचीमा राख्नुभएको थियो । तर, काष्ठमण्डप पुनःनिर्माण समितिमै बसेर काम गर्ने कुरो उहाँको कल्पना बाहिर कुरो थियो । प्रदेश सांसद भएपछि शाक्यलाई परिस्थितिले पुनःनिर्माण समितिको अध्यक्ष हुने स्थितिमा पु¥याएको थियो ।

त्यतिबेला उपभोक्ता समितिमार्फत समुदायस्तरबाट मन्दिर पुनःनिर्माण गर्न दुई÷दुई पटक उपभोक्ता समिति गठन गर्ने प्रयास नभएको भने होइन । यसरी बनेका दुई वटै समिति आन्तरिक विवादमै अलमलिएपछि कामै गर्न सकेन । त्यसबाट पाठ सिकेर तेस्रोपटक शाक्यको अध्यक्षतामा पुनःनिर्माण समिति गठन गरिएको थियो । सांसद् नै समितिको अध्यक्ष बनेपछि स्थानीयले पनि सहज रूपमा स्वीकार गरेका थिए ।

यता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य काष्ठमण्डप पुनःनिर्माण गर्नुपर्नेमा जोड दिइरहनुभएको थियो । उता सांसद् शाक्य समितिको अध्यक्ष । महानगरपालिकाको आर्थिक अनुदान र शाक्य नेतृत्व रहेको समितिको क्रियाशीलताका कारण भूकम्पबाट क्षतिग्रस्त भएको करिब ७ वर्षपछि बल्ल काष्ठमण्डपको पुनःनिर्माण भएको थियो । काष्ठमण्डप पुनःनिर्माण भएपछि त्यसको अवलोकन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्पदा क्षेत्रमा गौरव गर्न लायकको कार्य भनी अभिव्यक्ति दिएका थिए । ठेक्कामा बनाउन खोज्दा अनुमानित लागत १९ करोड रुपियाँ भनिएको सो मन्दिरको पुनःनिर्माण केवल ११ करोड रुपियाँ खर्च भएको थियो ।

सांसद भएका कारण पुनःनिर्माण कार्यमा धाउन र समन्वय गर्न सहज भएको जिकिर गर्दै उम्मेदवार शाक्यले भन्नुभयो– ‘पुनःनिर्माणले काष्ठमण्डप बनाउने सांसद् भनेर परिचय थपिदियो ।’

अघिल्लो निर्वाचनमा शाक्यले प्रतिबद्धता गरेका १३ वटामध्ये पूरा नभएको एउटा प्रतिबद्धता यस पटक पूरा गर्ने लागि पर्ने पनि शाक्यले बताउनुभयो । अर्थात भाषा आयोगको सिफारिसअनुसार वागमती प्रदेशमा नेपाली भाषासँगै नेपाल र तामाङ भाषालाई कामकाजी भाषा बनाउने अघिल्लो प्रतिबद्धता यसपटक पूरा गर्ने उहाँको योजना छ । त्यससँगै उहाँले हनुमानढोका दरबार संरक्षण क्षेत्रको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने, सम्पदाको संरक्षण, संस्कृतिलाई आर्थिक विकाससंग जोड्ने, मेलम्ची खानेपानीलाई छिटोभन्दा छिटो काठमाडौंमा ल्याउने, प्रदेश सरकारको लेटर प्याडमा नेपाल संवत् र रञ्जना लिपिको प्रयोग गराउने, उपत्यकाको वस्तुस्थिति अनुसार गुठी विधयेक ल्याउने, युवा रोजगारी र मनमती खोला करिडोर विकास गर्ने लगायत प्रतिबद्धता पनि अघि सार्नुभएको छ । नेवाःदेय् दबू उपत्यका विशेष प्रदेश र वागमती प्रदेशले अघि सारेको १३ बुँदे प्रतिबद्धतापत्रलाई शाक्यले आफ्नो घोषणापत्रको अभिन्न बनाउनुभएको छ ।

सामाजिक कार्य गर्दै राजनीतिमा आएका शाक्य पार्टीको तल्लो कमिटीदेखि काम गर्दै आएका नेता हुनुहुन्छ । जनतामा राम्ररी भिजेका शाक्यले अघिल्लोपटक संविधानसभाका सदस्य भइसक्नुभएका राज्यलक्ष्मी श्रेष्ठसँग १७ सय मतान्तरले निर्वाचनमा विजयी हुनुभएको थियो । शाक्यको अहिलेको प्रतिस्पर्धा नेपाली कांग्रेसका राजुराज जोशीसँग रहेको छ । जोशी अघिल्लो स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मेयरको लागि उम्मेदवारी दिनुभएको थियो । सो क्षेत्रमा कूल मतदाता ३२ हजार ३ सय ५८ रहेको छ ।