add

युके पत्रकारिता सम्मान रमिता लामा र पुरस्कार नृपेन्द्रलाल श्रेष्ठलाई

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ फाल्गुण ८, सोमबार वर्गीकृत राष्ट्रिय

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता सम्मान पत्रकार रमिता लामा र पुरस्कार पत्रकार नृपेन्द्रलाल श्रेष्ठलाई दिइने भएको छ ।

पुरस्कार छनौट समितिका संयोजक तथा फोनिज युकेका प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पाको अध्यक्षतामा बसेको समितिको हालै बैठकले सर्वसम्मतरुपमा लामालाई सम्मान र श्रेष्ठलाई पुरस्कार दिने निर्णय गरेको हो ।

रामेछाप दोरम्बामा जन्मिएकी लामा २०४९ सालदेखि पत्रकारितामा लाग्नुभएको हो । उहाँ रेडियो नेपालको समाचार महाशाखामा समाचार वाचक तथा सम्पादक हुनुहुन्छ । समाजसेवा रेडियो कार्यक्रम सञ्चालनबाट पत्रकारिता शुरु गर्नुभएकी लामाले तामाङ भाषाको समाचार वाचनका साथै सांसद फोन इन र तामाङ भाषाको कार्यक्रम श्यालगार पनि सञ्चालन गर्नुभएको छ । उहाँ नेपाल पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार संघ तथा फोनिजमा आवद्ध हुनुका साथै नेपाल तामाङ महिला घेदुङको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले थुप्रै पुरस्कार र सम्मान पनि हासिल गरिसक्नुभएको छ ।

काठमाडौँमा जन्मेका श्रेष्ठ २०४९ सालदेखि पत्रकारितामा आवद्ध हुनुहुन्छ । उहाँ म्हसिका मासिक, सम्यक साप्ताहिक, नेवा पौ मासिक, लहना साप्ताहिक पत्रिका तथा लहनान्युज डटकममा आवद्ध हुनुहुन्छ । साथै उहाँले टेलिभिजनमा पनि नेपालभाषाको कार्यक्रम सञ्चालन गर्नुभएको छ ।

श्रेष्ठ नेवा राष्ट्रिय पत्रकार दबूको केन्द्रीय अध्यक्ष हुनुहुन्छ भने विभिन्न भाषिक, साँस्कृतिक र सामाजिक संस्थामा पनि आवद्ध हुनुन्छ । उहाँलाई काठमाडौँ महानगरपालिकाबाट सुशासन पत्रकारिता पुरस्कार, त्रिमूर्ति निकेतन, खड्गी सेवा समिति, गोविन्द किपू प्रतिष्ठानबाट पनि सम्मान र पुरस्कार दिइएको छ ।

फोनिज युकेले हरेक वर्ष नेपालमा कार्यरत दुई जना पत्रकारलाई पुरस्कार तथा सम्मान गर्ने गरेको छ । सम्मान तथा पुरस्कारको राशी जनही २५ हजार र सम्मानपत्र रहेको छ । पुरस्कार यसअघि गोपाल छाङ्छा राई, रामविकास चौधरी, गणेशमान गुरुङ, मिलन लिम्बु, शान्ति गुरुङ, सन्त गाहामगर, राजेश चाम्लिङ, टेकराज थामी, टीकाराम प्रधान र निलिफा सुब्बालाई प्रदान गरिसकिएको छ ।

छनौट समितिमा सल्लाहकार दुत पुन, फोनिज युकेका पूर्व अध्यक्ष प्रमिला लाबुङ राई, वर्तमान अध्यक्ष गोमा राना र सचिव लीला सेलिङ माबो सदस्य रहेका थिए ।