अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक मातृभाषा प्रेमीहरुलाई विशेष दिन

Swoniga Online | २०७९ फाल्गुण १०, बुधबार वर्गीकृत कला

संसारमा बंगलादेश मात्र त्यस्तो राज्य हो, जुन भाषाका कारण टुक्रिएर अस्तित्त्वमा आयो । राजनैतीक कारणबाट धेरै देश  टुक्रा भए होलान्, तर भाषाको कारण लिएर पाकिस्तानबाट टुक्रा भइ बंगलादेश अस्तित्वमा आयो ।

मातृभाषा बोल्ने अधिकार माग गर्दै भएको आन्दोलनको फलस्वरुप बंगलादेश बनेको इतिहास हेरेपछि मातृभाषी समुदायलाई आफ्नो भाषाप्रति कत्तिको प्रेम हुन्छ भन्ने थाहा हुन्छ । त्यसैले पनि संसारमा मातृभाषा प्रेमको कुरा आउँदा बंगलादेशलाई उदाहरणको रुपमा लिने गरिन्छ ।

बंगलादेशमा  भाषिक अधिकारको आन्दोलन २१ फेब्रुअरी १९५२ का दिन भएको हो । यहि दिनलाई सम्झना गर्दै आजभोलि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने गरेको छ ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक मातृभाषा प्रेमीहरुलाई विशेष दिन हो । मातृभाषासित सम्वन्धित विभिन्न संघ, संगठन, व्यक्तिभएको ठाउँमा विशेष तरिकाले कार्यक्रम संचालन भइरहेको पाइन्छ ।

मातृभाषाको माध्यमबाट पत्रकारिता गरिरहेका पत्रकार अथवा मातृभाषी पत्रकारहरुको लागि झन यो विशेष र महत्वपूर्ण दिन हो ।नेवाः समुदायमा नेपालभाषा माध्यमबाट पत्रकारिता गरिरहेका नेवाः पत्रकारहरुको विचमा मातृभाषा पत्रकारितालाई लिएर वहसको विषय बनाउन  राष्ट्रिय स्तरका नेवाः पत्रकारितालाई चिनाउन नेवाः पत्रकार राष्ट्रिय दबूबाट काम भइरहेको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबू पत्रकारिता क्षेत्रमा  शसक्त रुपमा अगाडि बढिरहेको संगठन हो । पत्रकार दबू स्थापना भइसकेपछि मातृभाषा पत्रकारिता र समावेशी पत्रकारीतामा बहस र छलफल निरन्तर भइरहको छ । दबूबाट अहिले सम्म अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दुइचोटि गोष्ठी भइसकेको छ भने नेपाल आदिवासी जनजाती पत्रकार महासंघसगँ सहकार्य गरेर दुइचोटि मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन गरिसकेको छ ।

यहि कायक्रमबाट मातृभाषा पत्रकारिता क्षेत्रको अवस्थाबारे कुरा राख्ने अवसर दिएको हो । यस दबूबाट गएको २०७९ पुस २३ (११४३ पोहेलाथ्व पारु) को दिन चौथो महाधिवेशनबाट १९ जना कार्यसमितिमा चयन भएर आएको छ ।

नयाँ कार्यसमिति निर्वाचित भइसकेपछि गएको  पुस १९ गते देखि  २१ गतेसम्म बुद्धको जन्मभुमि लुम्बिनीमा दबूका नयाँ समितिको पहिलो पूर्ण बैठक बसेको हो । सोहि बैठकंबाट धर्मादित्य धर्माचार्यं मातृभाषां पत्रकारिता गरेको सय वर्ष पुराभएको सन्दर्भलाई लिएर मातृभाषा पत्रकारिताया शतवार्षिकी मनाउने गरि महन्त्वपूर्ण ऐतिहासिक निर्णय गरेको छ ।धर्मादित्य धर्माचायले ने.सं. १०४५ मा ‘बुद्धधर्म’ नामक पत्रिका प्रकाशन गरी नेपालमा नै मातृभाषा माध्यमबाट पत्रकारिता सुरु गरेका थिए । यसैसँग उनी नेपालकै पहिलो मातृभाषी पत्रकार पनि बनेका हुन् ।

यहि दिनको स्मरणमा पत्रकार दबूबाट ने.सं. ११४४ देखि ११४५ सम्म शतबार्षिक उत्सवको रुपमा विभिन्न कार्यक्रम गर्दै मातृभाषा पत्रकारिता वर्ष मनाउने निर्णय गरिसकेको छ ।

मातृभाषा माध्यमबाट पत्रकारिता सुरु भएको सय वर्ष पूरा भएको अवसरमा नेपालभाषाको छापा, अनलाइन, टेलिभिजन र रेडियोमा इतिहासदेखि वर्तमानसम्मका पत्रकारितालाई लिएर पुस्तक नै प्रकाशन गर्ने भएको छ । त्यसैगरी धर्मादित्य धर्माचायको फोटो अंकित चाँदिको सिक्कादेखि हुलाक टिकट प्रकाशनसम्मको लागि संघीय सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

यति मात्र नभइ मातृभाषा बिकासका लागि धर्मादित्य धर्माचार्यको नामंबाट धर्मादित्य धर्माचार्य संचार प्रतिष्ठान स्थापना गर्न नेपाल सरकारलाई दवाब दिने निर्णय पनि दबूबाट भएको छ ।

यस्तै कार्यक्रमको लागि मात्र कार्यक्रमको आयोजना नभइ नतिजा नै दिनका लागि दबूका उपाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठको संयोजनमा एक समिति गठन भएको छ ।

यी सबै कुराहरु गरिरहँदा नेवाः पत्रकार राष्ट्रिय दबूले नै किन मातृभाषा पत्रकारिता दिवसलाई यसरी भव्यताका साथ एक वर्षसम्म मातृभाषा पत्रकारिता वर्षको रुपमा मनाउनु पर्यो भन्ने प्रश्न आएमा यसलाई स्वाभाविकै मान्न सकिन्छ । यसको लागि नेपालको पत्रकारिता क्षेत्रमा नेवाः पत्रकारहरुको योगदानलाई खोतल्दा सहजै उत्तर पाउन सकिन्छ ।

नेपालको संचार क्षेत्रमा, मातृभाषा पत्रकारिताको विकासमा नेवाः पत्रकारहरुको नेतृत्त्वदायी भूमिका देख्न सकिन्छ । मातृभाषाका प्रथम पत्रकारका साथै पत्रिकाको प्रकाशक धर्मादीत्य धर्माचार्य हो भन्ने कुरा माथि नै उल्लेख भइसकेको छ ।

त्यस्तै नेपालमा पत्रकारहरुको पहिलो संगठन नेपाल टुडको सम्पादक सत्यनारायण बहादुर श्रेष्ठले निर्माण गरेका थिए । उहाँले बि.सं. २००८ सालमा नेपाल पत्रकार संघ गठन गरी नेपालमै पहिलो पत्रकारहरुको संगठनको सुरुवात गरे ।

त्यसै  बि.सं. २०१० असार ४ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारको पहिलो संचारमन्त्री त्रिपुरवर सिहं प्रधान थिए । २०१६ साल जेठ १३ गते बिश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा जननिर्वाचित सरकारको पहिलो जननिर्वाचित संचार मन्त्री प्रजातान्त्रिक आन्दोलनका अभियन्ता गणेशमान सिंह थिए ।

पहिलो महिला पत्रकार साधना प्रधान र कामक्षादेबी हुन् । उहाँहरु बि.सं. २००८ साल जेष्ठ महिनामा नेपाल महिला संगठनंबाट प्रकाशित ‘महिला’ नामक मासिक पत्रिकाका सम्पादक थिए ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नाम पनि यहाँ छुटाउनु मिल्दैन । जोशीले २००९ सालमा कलाकार नामक पत्रिका हिन्दी, नेपालीभाषाको साथै अग्रेजी र नेपालभाषा गरी चारवटा भाषामा बहुभाषिक पत्रिका प्रकाशन गरेका थिए ।

नेपालमा मातृभाषालाई दमन गर्ने, मातृभाषीलाई थुन्ने गरेको इतिहास पनि यहाँनेर बिर्सन सकिन्न । बि.सं. १९९७ सालमा राणाशासन विरुद्ध बोल्नेहरुलाई झुण्याएइको थियो भने नेपालभाषाबाट लेख्नेहरुलाई राज्यले चरम यातना दिएको थियो ।

त्यो बेला नेपालभाषा पत्रिकाका सम्पादक, प्रकाशक फत्तेबहादुर सिंहलाई जन्मकैद, सिद्धिचरण श्रेष्ठ र धर्मरत्न यमिलाई १८ वर्ष, चित्तधरलाई ६ वर्ष र धर्मादित्य धर्माचार्यलाई ३ महिना जेल सजाय दिइएको थियो ।तत्कालीन समयमा नेपालमा बसेर नेपालकै मातृभाषामा लेखिएका पुस्तक, पत्रपत्रिका छाप्ने, प्रकाशन गर्ने पनि कुनै सजिलो काम थिएन । त्यसैले भारतको कलकत्ता र कालिम्पोङबाट पत्रिका, पुस्तक छापेर लुकाएर नेपाल ल्याउने गरिन्थ्यो । अझ, त्यो पनि बाटोमा फेला परेमा भने जफत गरिन्थ्यो ।

त्यस्तै, ३० वर्ष अगाडि पंचायती व्यवस्थाले पनि सरकारको विरुद्ध केही लेखेमा जेलमा बस्नुपथ्र्यो । ०४६/४७ सालमा जनआन्दोलन पछि देशमा बहुदलीय व्यवस्था आयो । त्यसपछि मातृभाषा माध्यमबाट पत्रकारिता गरिरहेकाहरुले परिवर्तनको आशा गरे । तर भन्नैपर्दा त्यो परिवर्तन मातृभाषी पत्रकारहरुले आजसम्म पनि अनुभूति गर्न पाएका छैनन् ।

सरकारमा बस्नेहरुले कहिले पनि भाषिक पत्रकारिता क्षेत्रमा परिवर्तन ल्याउन पहल गरेनन् । आज नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रता भनेतापनि मिडिया विधेयक, सूचना प्रविधि विधेयक आदि ल्याइ दण्ड जरीवाना लिने गरेको छ । यस्तो परिस्थितिमा त मातृभाषी पत्रकारहरुले राणा शासन फर्केको आभाष गरिरहेका छन् ।

देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको अवस्थामा पनि सरकारले पत्रकारिता क्षेत्रमा परिवर्तन ल्याउन खासै प्रयास गरेको देखिन्न ।

नेवाः पत्रकारिताको कुरा गर्ने हो भने आज भन्दा ६७ वर्ष पहिले नेपालभाषाको दैनिक पत्रिका प्रकाशन भइसकेको थियो । फत्तेबहादुर सिंहको प्रकाशन र सम्पादनमा २०१२ भाद्र महिनामा नेपालभाषाको दैनिक पत्रिका ‘नेपालभाषा पत्रिका’ प्रकाशन भएको थियो । यो नेपालभाषाको पहिलो र नेपालको तेस्रो दैनिक हो । नेपालको पहिलो दैनिक पत्रिका ‘आवाज’ हो । त्यसपछि ‘समाज’ दैनिक दोश्रो स्थानमा पर्दछ ।

नेपालभाषा पत्रिका बजारमा आउँदा राज्यशक्तिमा रहेको खस नेपाली भाषाबाट दैनिक पत्रिका प्रकाशन भएको थिएन । आजभोलि प्रकाशनमा रहेको सरकारी दैनिक पत्रिका ‘गोरखापत्र’ दैनिक समेत २०१७ सालमा मात्र दैनिक प्रक्राशनमा आएको थियो । चन्द्र शम्सेर प्रधानमन्त्री हुँदा साप्ताहिक रुपमा प्रकाशन भएको गोरखापत्र हप्ताको दुइपल्ट हुँदै पछि मात्र दैनिक भएको हो ।

त्यस्तै, पासा पाक्षिकको नाम पनि यहाँ बिर्सनु हुँदैन । आशाराम शाक्यको सम्पादनमा च्वसापासाका प्रकाशनमा २००८ सालमा समाचारलाई प्राथमिकता दिइ ‘पासा’ पाक्षिक प्रकाशन भएको हो । पछि यहि पत्रिका दैनिक भइ केहि समय प्रकाशनमा आई बन्द भयो ।

साप्ताहिक पत्रिकाको कुरा गर्ने हो भने वि.सं. २०४१ सालमा प्रकाशनमा आएको ‘राजमति’ साप्ताहिक नेपालभाषाको पहिलो साप्ताहिक पत्रिका हो ।त्यसपछि धेरै साप्ताहिक पत्रिका निस्के भने समयसँगै बन्द पनि भए । एक समय निकै लोकप्रिय रहेको नेपालभाषाको साप्ताहिक पत्रिकाहरु इनाप वाःपौ, देशय्मरुझ्याः देखि पछिल्लो समयमा नेपाः सः साप्ताहिक, तिकिझ्याः साप्ताहिक अहिलेको समयमा निरन्तर हुन सकेन ।

इनाप पत्रिकाले नेवाः पत्रकारिता क्षेत्रमा धेरै पत्रकार जन्मायो । त्यस समयमा इनाप पत्रिकामा काम गर्ने धेरैे पत्रकारहरु आजसम्म पनि पत्रकारिता क्षेत्रमा सक्रिय नै छन् ।

दैनिकको कुरा गर्नेे हो भने २०४४सालमा ‘विश्वभूमि’ दैनिक प्रकाशित भयो । चर्चा वा लोकप्रियताको कुरा गर्ने हो भने विश्वभूमि पनि उत्तिकै चर्चाको शिखरमा पुगेको पत्रिका हो । नेवाःहरुको बिचमा मात्र नभई, गैर नेवाःको बिचमा समेत लोकप्रिय विश्वभूमि दै्रनिक ०४६ सालको जन आन्दोलनको समयमा निकै पढिन्थ्यो ।

तत्कालीन समयमा विश्वभूमि दैनिक नेपालभाषा नबुझ्नेहरुले समेत खोज खोजी पढ्ने गर्थे । यो पत्रिका ०४६ सालमा आन्दोलनको समयमा त दैनिक तिन पटकसम्म छाप्दै बजारमा लगेको इतिहास छ । यो पत्रिका पनि आजको दिनमा इतिहासको पानामा मात्र सीमित हुनुपुगेको छ ।

प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र आएपनि संचार क्षेत्रमा अहिलेसम्म परिवर्तनको अनुभूति गर्न पाएको देखिँदैन । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले अहिलेसम्म मातृभाषा पत्रकारितालाई लिएर केहि नीति नियम वनाएको देखिँदैन ।

पत्रकार दबूबाट मनाइरहेको मातृभाषा पत्रकारिता दिवस भनेको मातृभाषी पत्रकारहरुको अवस्था र पीडालाई लिएर राज्यको ध्यानाकर्षण गर्नको निम्ति हो, समस्या समाधान गराउनको निम्ति, अवस्थालाई सुधार गराउन राज्यलाई झकझकाउनको निम्ति हो ।