बालेन्द्र शाहसँग चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट

Swoniga Online – रेजिना श्रेष्ठ | २०७९ फाल्गुण २५, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका लागि राजदूत सङ् प्रमुख शाहको कार्यकक्षमा आउनुभएको थियो । भेटका क्रममा आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी गर्दै प्रमुख शाहले काठमाडौँका सम्पदाहरुको निर्माण शैली चीनका सहरहरुमा प्रवर्धन गर्न चाहेको बताउनुभयो । ‘काठमाडौँसँग चीनका ७ वटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ ।

यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका सहरमा निर्माण गर्न चाहन्छौँ ।’ ‘दुवै देशका नागरिकले मनाउने पर्व एउटै हुन सक्छन् । भेषभुषा र खानपान एउटै हुन सक्छन् । यो सम्बन्धबाट नागरिक स्तरमा प्रबर्धन गर्न सकिन्छ ।’ प्रमुख शाहले भन्नुभयो, ‘नेपाल र चीन विचको व्यापारिक सम्बन्ध २ हजार बर्षभन्दा पनि पुरानो छ ।

काठमाडौँले चीन र भारतको व्यापारिक सम्बन्ध जोडेको थियो । यो सम्बन्धलाई हामीले विर्सन हुँदैन ।’ उहाँले मौलिक आपसी सम्बन्धको नागरिक तहमा लाभ हुने विषयमा जोड दिनुभयो । भेटका क्रममा राजदूत सङ्ले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताउनुभयो । यसका लागि हामी आपसी सहयोग बढाउन सक्छौँ ।

‘काठमाडौँको समृद्धि र सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग बढाउनु पर्छ । सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउनुपर्छ । यसमा हाम्रा अनुभव र सिकाइ काम लाग्ने हुन सक्छन् ।’ राजदूत सङ्को भनाइ छ । कुराकानीमा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लािग चाहिने चार्जिङ् स्टेशनलगायत सहरी व्यवस्थापनका विषय थिए ।

भेटका अवसरमा प्रमुखका व्यवस्थापन सल्लाहकार कुमार बेन (व्यञ्जनकार) सचिवालय प्रमुख नुरनिधि न्यौपाने, अन्तरराष्ट्रियसम्बन्ध सचिवालय प्रमुख सुदर्शन भट्टराईसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।