अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम

Swoniga Online – रेजिना श्रेष्ठ | २०७९ फाल्गुण ३०, मंगलबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ । फागुन २६ गते बालाजु बाइसधारास्थित महानगरको सभा कक्षमा सम्पन्न उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरुको बैठकले फोरम गठन गरेको हो । यसको सदस्यमा उपत्यकाका सबै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनु हुनेछ ।

अन्तरपालिका सम्बन्ध, साझा कार्यक्रम, सहयोग र समन्वय सिकाइ, भोगाइ र अनुभव आदान प्रदान गर्ने फोरम गठनको मुख्य उद्द्श्य हो । फोरममा सार्वजनिक महत्वका विषयमा समान धारणा निर्माण गर्ने, जनप्रतिनिधिबाट तर्जुमा भएका नीतिगत निर्णयमा समान बुझाइ बनाएर उपत्यका एकीकृत विकासमा काम गर्ने विषयमा छलफल हुनेछ ।

बैठकमा प्रशासकीय अधिकृत अधिकारीले महानगरपालिकाका सफल अभ्यासका विषयमा प्रस्तुति गर्नुभएको थियोे ।

एकीकृत विद्युतीय सेवा सञ्चालनमा ल्याइएको, खरिद मूल्याङ्कन अधिकार विभाग र वडालाई दिइएको, आन्तरिक नियन्त्रण प्रणाली विकास गरिएको, वडाहरुको कार्य सम्पादन अनुगमन सूचक तयार पारिएको जस्ता कामलाई सिकाइका रुपमा अन्य पालिकाहरुमा विस्तार गर्न सकिने उहाँको भनाइ छ  । सामुदायिक विद्यालयहरुको सुधारका लागि प्रोफाइल तयार पारिएको, सहरी स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा रुपान्तरण प्रक्रिया थालिएको उहाँको भनाइ छ । विशेषज्ञ स्वास्थ्य सेवासहितका यी केन्द्र सञ्चालनमा  सार्वजनिक सामाजिक उत्तरदायित्वको ढाँचा अबलम्बन गरिने उहाँले बताउनुभयो ।

अहिले गोकर्णेश्वर नगरपालिकामा बैकुष्ठप्रसाद सापकोटा, शंखरापुरमा बासुदे्व खनाल, बुढानिलकण्ठमा भुवनेश्वर खनाल, तारकेश्वरमा डा. कृष्णबहादुर घिमिरे, चन्द्रागिरीमा जीवनप्रसाद आचार्य प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । यसैगरी चाँगुनारायणमा हिरामणि सुवेदी, सूर्य बिनायकमा राजेन्द्रप्रसाद कँडेल, मध्यपुरमा विजयराज सुवेदी, टोखा नगरमा शेरबहादुर बि. सी. कीर्तिपुरमा लक्ष्मीप्रसाद बास्कोटा, कागेश्वरी मनोहरा नगरमा अजय बर्तौला हुनुहुन्छ । उहाँहरु बैठकमा सहभागी हुनुभएको थियो । 

बैठकमा उहाँहरुले राजस्वको दर एउटै हुनुपर्ने, फोहोरमैला व्यवस्थापनमा एउटै ढाँचाको कार्यक्रम चलाउनुपर्ने, पार्किङ्को मापदण्ड समान बनाउनु पर्ने लगायत विषयमा धारणा राख्नुभएको थियो । साझा कार्यक्रमका विषयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले राख्नुभएको प्रस्तावमाथि छलफल गर्दै उहाँहरुले सिमाना जोडिएका नगरहरुका समान मापदण्ड बनाउन सके सेवाग्राहीहरुमा सेवा सन्तुष्टि दिन सकिनेमा जोड दिनुभएको हो ।

सामुदायिक कुकुर र छाडा चौपाया व्यवस्थापन, डेङ्गी लगायत महामारी नियन्त्रण, वातावरणीय सुधार, ल्याण्डफिल साइटमा कमभन्दा कम फोहोर लैजाने प्रणालीको विकास, सहरी उज्यालो, नदी व्यवस्थापन, सडक सञ्जालको प्रयोग, सार्वजनिक यातायात प्रणालीका विषयमा छलफल भएको थियो ।

बैठकले चैत २४ गते फोरमको अर्को बैठक बस्ने निर्णय गरेको छ । त्यो बैठक कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गर्नेछ । अन्य बैठकमा विषयमा छलफल गर्दै बैठकले आगामी बैठकमा विषयमा अघिल्लो बैठकले निर्णय गर्ने सहमति गरेको छ ।