दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

Swoniga Online – रेजिना श्रेष्ठ | २०७९ फाल्गुण ३०, मंगलबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरबासीले पूर्वाधार निर्माणमा भन्दा उपलब्ध अवस्थाको व्यवस्थापकीय पक्ष सुधारमा जोड दिएका छन् । आज राष्ट्रिय सभा गृहमा सम्पन्न दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले लिखित र मौखिकमार्फत यस्ता अपेक्षा गरेका हुन् ।

प्रश्नकर्ताले दिएका सुझाव तथा सोधिएका प्रश्नहरु, सडक पेटी, पैदल यात्रामैत्री सडक, पार्किङ् व्यवस्थापनबाट सहरी गतिशीलता, फोहोरको दिगो संकलन र व्यवस्थापन, विकास निर्माण र सुविधा वितरणमा काम गर्ने सरकारी कार्यालय बिच समन्वय लगायत विषयसँग सम्बन्धित छन् । यस्तै पूर्वाधार निर्माण गर्दा मौलिकता जोगाउँदै समावेशी र अपाङ्मैत्री संरचनामा ध्यान दिनुपर्ने लगायत बिषय छन् । खुल्ला मञ्च व्यवस्थापनको योजना के हो? सामुदायिक कुकुर व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ? जस्ता चासो अभिव्यक्त भएका छन् ।

महामारी नियन्त्रणलगायत सहरी स्वास्थ्य प्रवर्धन, सामाजिक सुरक्षा, प्रकोप व्यवस्थापन, सेवा प्रवाह र कार्यालय सञ्चालन प्रणालीका विषयमा सेवाग्राहीको प्रश्न थियो । सार्वजनिक स्थलहरुमा नागरिकको सुरक्षा, सरल र पहुँचयुक्त सार्वजनिक यातायात, तार, होर्डिङ् बोर्ड र डिजिटल बोर्डको व्यवस्थापनमा सेवाग्राहीको चासो छ ।

नागरिकका प्रश्न सुनिसकेपछि सुनुवाई कार्यक्रमको अध्यक्षता गरिरहनुभएकी महानगरकी उपप्रमुख सुनिता डंगोलले, सेवाग्राहीसँगको दोहोरो संवादबाट सुशासन र सेवाको पारदर्शितामा टेवा पुग्ने आशा व्यक्त गर्नुभयो । ‘जनप्रतिनिधिको मुख्य दायित्व जनताको सेवा गर्नु हो । हामी यसप्रति प्रतिवद्ध छौँ ।’ उपप्रमुख डंगोलले नेपाल भाषाको पाठ््यपुस्तक अझै सरल बनाउनु पर्ने जिज्ञासाको उत्तरमा भन्नुभयो, ‘ती पाठ््यपुस्तकबाट भाषा पढाउनेभन्दा काठमाडौँको मौलिकतालाई आम नागरिकको जानकारीमा पु¥याउने लक्ष्य राखिएको बताउनुभयो ।’

सुनुवाईका प्रमुख उत्तर दिने अधिकारी एवं काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, सहरी विकास र सुविधा वितरणका लागि धेरै निकाय भएकोले महानगर एक्लैको प्रयासले सोचेको जस्तो उपलब्धी नदेखिने बताउनुभयो । ‘असरल्ल तार काट्ने र अनावश्यक झिकेर जोडिदिने गरिएको छ । होर्डिङ् बोर्ड हटाउने कामलाई तीब्र बनाइएको, सार्वजनिक यातायात प्रणाली र पार्किङ् सुविधालाई व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।’

हामी विश्वाश, विचार र विकासको रणनीतिमा काम गरिरहेका छौँ । प्रवक्ता ननिव मानन्धरले भन्नुभयो, ‘नागरिकको विश्वाश जितेका छौँ । कार्य काल सुरु भएको १ बर्ष हुन लागेको छ । अहिले नागरिकको विचार बुझ्ने काम गरिरहेका छौँ । यसरी प्राप्त विचारका आधारमा विकास गर्नेछौँ ।’

सहरी सुरक्षा, मौलिकताको प्रवर्धन र विकास निर्माण सँगै स्वास्थ्य शिक्षा र रोजगारीलाई प्राथमिकता दिइएको प्रवक्ता मानन्धरको भनाइ छ ।

महानगरको योजना योजना वैङ्क भएका कार्यक्रम, वडाले सम्पादन गर्ने काम, सेवा लिन जाँदा सेवाग्राहीप्रति गरिने व्यवहार प्रश्नकर्ता अनुभवका रुपमा सोधिएका थिए ।

सुनुवाई सुरु गर्नुअघि स्वतन्त्र अनुसन्धानकर्ता सुरेन्द्र महतोले नागरिक प्रतिवेदनपत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गर्नु भएको थियो । महानगरका १५० जना सेवाग्राहीसँग सेवा सन्तुष्टि, सेवाको नियमितता, पूर्वाधार र सरसफाइ, पारदर्शितालगायत शीर्षकमा सोधिएका प्रश्न जवाफमा आधारित नतिजा आएको छ । सोधिएका प्रश्नमा नागरिकले दिएको उत्तरलाई नागरिक प्रतिवेदन पत्रका रुपमा प्रस्तुत गरिएको थियो । त्यसै गरी सेवा लिएर कार्यालयबाट बाहिर निस्कने सेवाग्राहीलाई सेवा कति सहजतापूर्वक प्राप्त भयो भनेर सोधिएको प्रश्नबाट प्राप्त भएको जवाफ समेटेर बहिर्गमन अभिमतको परिणाम तयार पारिएको थियो ।

यी प्रतिवेदनमा धेरै उत्तरकर्ताहरु तटस्थ देखिएका छन् ।

सेवा लिन जाँदा सूचना पर्याप्त प्राप्त गरेको, कम समयमा नै सेवा प्राप्त हुने गरेको, खोजेको कागज तुरुन्तै पाइने गरेको बहिर्गमन अभिमतले देखाएको परिणाम हो ।