add

रातो मच्छिन्द्रनाथ (बुङ्गद्यः) प्रतिमूर्ति विवाद सल्टाउने बारे

Swoniga Online – रेजिना श्रेष्ठ | २०७९ चैत्र १७, शुक्रबार वर्गीकृत राष्ट्रिय

१.समाजमा सयौं वर्षदेखि निरन्तरता कायम रहनु नै संस्कृति र सम्पदाको मूल्यको मुख्य आधार हुन् । रातो मच्छिन्द्रनाथसंग सम्बन्धित प्रथाजनित संस्था पानेजु, घःकू, बाराही वा यंग्वाल लगायतको सरोकारवालाले आफूखुशी परम्परा तोडमोड गर्दै लाने छुट दिने हो भने रातो मच्छिन्द्रनाथको रथ परम्परा कस्तो प्रभाव पार्ला ?

२.बुंङ्गद्यः अर्थात रातो मच्छिन्द्रनाथको नित्यपुजासंग तन्त्र साधना जोडिएको हुन्छ । यसको नित्यकर्मको लागि पानेजुहरूले विशेष नियम, आचरण पालना गर्नुपर्ने परम्परा छ । कीर्तिपुरमा स्थापना गरिएको प्रतिमूर्तिले पुजाआजा गर्न आवश्यक विशिष्ट परम्पराको सुनिश्चितता गर्दैन। 

३. बुङ्गद्यःसंग सम्बन्धित प्रथाजनित संस्था पानेजुहरू र राज्यको निकायको रूपमा गुठी संस्थान जोडिएको छ । तिनको स्वीकृति बेगर दुरूस्तै मूर्ति पुनःस्थापन गर्नु के उचित हुन्छ ? यस सन्दर्भमा पुरातत्व विभागको पछिल्लो निर्णय आत्मसात गर्नुपर्ने देखिन्छ ।

४. अहिले राखिएको प्रतिमूर्ति  श्रृजनाको दृष्टिले त्यसको कला र बनाउने प्रविधिलाई कदर गर्दै कीर्तिपुरको प्यंङ्ग था बाहेक कीर्तिपुर को कुनै अन्य स्थान वा संग्रहालय वा गुठी संस्थानको जिम्मा लगाईदिने ।

५.कीर्तिपुरको प्यङ्ग थाँमा रातो मच्छिन्द्रनाथको करूणामयको प्रतिनिधि जल पानेजुले शक्ति स्वरूपा (याकः मिसा)लाई फूल प्रसाद दिने जीवन्त संस्कृतिलाई पौभा चित्र, भित्ते चित्र वा अन्य कलात्मक माध्यमबाट अभिव्यक्ति गरी पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धनका लागि दुई वटै नगरपालिका लाग्ने ।

६. सो परम्परासंग सम्बन्धित विभिन्न जनश्रुति, प्रचलित किवदन्तीको संग्रह गरी पर्यटकलाई लक्षित गरी र्कीर्तिपुर नगरपालिकाले पुस्तक प्रकाशन गर्ने लगायत उपाय अपनाउन सकिने ।

७. कीर्तिपुरको सुखी गछें समाजले  हरेक वर्ष भोटो जात्राको अघिल्लो साता करूणामयको प्रतिनिधिको रूपमा पानेजु आउँदा विशेष तरिकाले स्वागत गरी प्यंगः थांको महत्व र प्रचारप्रसार गर्न सकिने । 

३ (रातो मच्छिन्द्रनाथको प्रतिमूर्तिको विवाद बारे ३२ पानेजु, गुठी संस्थान ललितपुर, दुवै नगरका प्रमुख,कर्मचारी, सुखी गछें समाज, सांस्कृतिक अभियन्ता, पत्रकार लगायतको उपस्थितिमा २०७९ चैत्र १४ गते मंङ्गलबार भएको बैठकमा यही बुँदालाई केन्द्रीत गर्दै धारणा राखेको थिएँ।)