लोककल्याणकारी विज्ञापन सम्बन्धि पत्रकार दबूको ध्यानाकर्षण

Swoniga Online – रेजिना श्रेष्ठ | २०८० जेठ ७, आइतबार वर्गीकृत राष्ट्रिय

नेपाल सरकार अन्तर्गतको विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन सम्बन्धि गरेको पछिल्लो निर्णयप्रति देशभरका नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको ध्यानाकर्षण भएको छ ।

सञ्चार माध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन वापतको रकम नपुग भएको कारण देखाउँदै जेठ १५ गतेसम्म प्रकाशित लोककल्याणकारी विज्ञापनको मात्र भुक्तानी दिने व्यहोरा उल्लेख गरी २०८०।०१।३१ गते प्रकाशित सूचनाप्रति पत्रकार राष्ट्रिय दबूको गम्भिर ध्यानाकर्षण भएको हो ।

छापा सञ्चार माध्यमलाई निरन्तर रूपमा दिँदै आएको लोककल्याणकारी विज्ञापन प्रणालीलाई समयानुकूल थप परिमार्जन र व्यवस्थित गर्दै जानुपर्नेमा सूचना प्रकाशन गरेर सञ्चार र सञ्चारकर्मीहरुको अहित हुने खालको बोर्डले निर्णय गरेको छ । कोरोना संक्रमण तथा त्यसपश्चात् उत्पन्न भएको देशको आर्थिक अवस्थाको कारणले नेपाली भाषा तथा मातृभाषामा प्रकाशित हुँदै आएका पत्रपत्रिकाहरु आर्थिक रुपमा थलिएका छन् ।

त्यसमाथि विभिन्न बहानामा विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशन वापतको रकम नदिने निर्णयले साना लगानी तथा स्वरोजगारमूलक छापा सञ्चार माध्यमहरू थप धरासायी हुने पत्रकार राष्ट्रिय दबूको ठहर छ । 

लोककल्याणकारी विज्ञापनका सम्बन्धमा बोर्डले जारी गरेको उल्लेखित सूचना आपत्तिजनक र छापा सञ्चार माध्यमको हितविपरित छ । त्यसैले छापा सञ्चार माध्यमको हितविपरितका यस्ता निर्णय तत्काल फिर्ता लिएर लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ ।