राजाेपाध्याय समाजकाे अध्यक्षमा सञ्जय शर्मा
Swoniga Online – स्वनिग अनलाइन | २०८१ आषाढ ३, सोमबार वर्गीकृत राष्ट्रिय

काठमाडौं/३ असाेज, राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजमा पुन: सञ्जय शर्मा राजोपाध्यायले नै नेतृत्व गर्नुहुने भएको छ। गत शनिबार भक्तपुरमा सम्पन्न समाजको चौथो अधिवेशनले नृत्य कलाकार र नृत्य निर्देशक समेत रहेका राजोपाध्यायलाई दोश्रो पटक अध्यक्ष चयन गरेको हो ।
अध्यक्ष चयन भएको घोषणा भएसँगै राजोपाध्यायले आधुनिक विज्ञान र प्रविधिसँगै जोडेर समाजको धर्म, संस्कृति, परम्परालाई युवा पुस्तालाई हस्तान्तरण गर्न आफु अघि बढ्ने बताउनुभयाे ।
‘हाम्रो धर्म, संस्कृति, परम्पराको संरक्षण गर्न यसलाई नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्छ । र प्रविधिमा अभ्यस्त युवा पुस्तालाई आकर्षित गर्न परम्परालाई पनि प्रविधिसँग जोडिनु आवश्यक छ ।’ समाजका नवनिर्वाचित अध्यक्ष राजोपाध्यायले भन्नुभयाे।
सोही अवसरमा अध्यक्ष राजोपाध्यायले व्यक्तिगत वा पारिवारिक भावना भन्दा समाजलाई प्राथमिकतामा राखेर सबै एकजुट हुँदै समाजको उत्थानमा लाग्न आग्रह समेत गर्नुभयाे। राजोपाध्यायले अर्को दुई वर्षकोे लागि समाजको नेतृत्व गर्नुहुनेछ।
अधिवेशनबाट निर्विरोध निर्वाचित भएको १३ सदस्यीय कार्य समितिका दुई उपाध्यक्षमा रचना शर्मा राजोपाध्याय र सञ्चारकर्मी बिराजकाजी राजोपाध्याय रहनु भएको छ।
महासचिवको जिम्मेवारी बन्दना शर्मा राजोपाध्यायले पाउनु भएको छ भने सचिवमा बिजय शर्मा राजोपाध्याय चयन हुनुभएको छ । कोषाध्यक्ष र सह कोषाध्यक्षको जिम्मेवारी क्रमशः उद्धव आचार्य राजोपाध्याय र चेतनादेवी शर्मा राजोपाध्यायले पाउनुभएकाे छ।
कार्य समितिको ६ सदस्यमा बिरु सुवेदी राजोपाध्याय, किशोर शर्मा राजोपाध्याय, महेशबाबु शर्मा राजोपाध्याय, त्रिलोचन राजोपाध्याय, श्रीमणिराज शर्मा राजोपाध्याय र गिरिश शर्मा राजोपाध्याय रहनुभएकाे छ । समितिमा बाँकी दुई जना सदस्य भने कार्य समिति वैठकबाट मनोनित गर्ने बताइएको छ ।
यस अघि अधिवेशनको उद्घाटन सत्रमा प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अगिब बनेपाली, यल नेवाः समाजका अध्यक्ष विनोद ताम्रकार, ज्योतिषाचार्य बीरेन्द्र प्रसाद कायस्थलगायतले नेवाः समाजमा सनातन धर्म, संस्कृतिको संरक्षण, सम्वर्द्धनमा राजोपाध्याय समाजको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनुभएकाे थियाे ।
त्यस्तै समाजका निवर्तमान अध्यक्ष अमरराज शर्मा राजोपाध्याय र संस्थापक अध्यक्ष बदन ज्वालानन्द राजोपाध्याय, उपाध्यक्ष रचना शर्मा राजोपाध्यायले व्यक्तिगत भावना र विचारभन्दा समाजलाई प्राथमिकतामा राखेर समग्र समाजकै उत्थानमा अघि बढ्न सबैलाई आग्रह गर्नुभयाे । व्याकरणाचार्य गजानन्दर राजोपाध्याय धर्म, संस्कृतिलाई राम्ररी बुझ्नका साथै यसको संरक्षणमा लाग्न संस्कृत सिक्नुपर्नेमा जोड दिनुभएकाे थियाे ।
सोही कार्यक्रममा समाजले २०७८ श्रावणदेखि २०७९ असारसम्म उपत्यकाको तीनै शहर काठमाडौं, भक्तपुर र ललितपुरका शिवालयहरुमा आयोजना गरेको पञ्चाभिषेक रुद्री, २०७९ श्रावण महिनामा काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेवमा आयोजना गरेको अयुताहुती यज्ञ, २०७८ र २०७९ सालका एसईई उत्तीर्ण राजोपाध्याय विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
साथमा समाजले आयोजना गरेको गायन प्रतियोगीता ‘गायन प्रतिभाको खोजी’ का विजेताहरुलाई पुरस्कृत गरिएको थियो भने समाजको जिल्ला समन्वय समिति काठमाडौंबाट आयोजना भएको तीन महिने संस्कृत प्रशिक्षणका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो ।