मखन महोदवमा पञ्चाभिषेक रूद्रीको समापन

Swoniga Online – Swonigaonline Reporter | २०७९ श्रावण २५, बुधबार वर्गीकृत स्थानीय-समाज

राजोपाध्याय समाजले मासिक रूपमा आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्रीको समापन गरेको छ । मंगलबार काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्रीको समापन गरिएको हो ।

राजोपाध्याय समाजको आयोजनामा काठमाडौं उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय ब्राह्मणहरुबाट विभिन्न पूजा पाठ गर्दै पंचाभिषेक रूद्रीको समापन गरिएको हो ।

१०८ कलश यात्राबाट शुरु गरिएको कार्यक्रममा देव ब्राह्मण ११ जनाबाट लघु रूद्राभिषेक, ९ जनाबाट नवचण्डी, शिव पञ्चाङ्ग पाठ गरिएको थियो भने १० हजार संख्याको अयुताहुति यज्ञसमेत सम्पन्न गरिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसमेत कार्यक्रममा उपस्थित भई पूजामा सरिक भएका थिए । साथै मन्त्री श्रेष्ठले काठमाडौंका ओमधरानन्द राजोपाध्यायबाट संकलित कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ पुस्तक समेत सार्वजनिक गरेका थिए ।

समाजका प्रतिनिधिहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले पवित्र र भव्य धार्मिक अनुष्ठानमा सहभागी हुन पाउँदा निकै आनन्द र खुसी लागेको बताउनुभयो ।

नेपालको मौलिक पहिचान र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न यस अनुष्ठानहरुको आयोजना गरिरहनुपर्ने विचार मन्त्री श्रेष्ठले राख्नुभयो ।

काठमाडौं उपत्यकाका आदिवासी राजोपाध्याय ब्राह्मणहरुको छाता संगठन राजोपाध्याय समाजले कोरोना महामारीबाट मुक्तिको कामना गर्दै गत वर्षबाट पञ्चाभिषेक रूद्री पाठ कार्यक्रमको सुरुवाट गरेको थियो ।

२०७८ श्रावण १२ गतेबाट सुरु गरिएको कार्यक्रममा काठमाडौं उपत्यकाका तीनवटै शहरहरुको शिवालयमा एकै दिन एकै समयमा पाँच पाँच जना देव ब्राह्मणहरुबाट रूद्री पाठ हुँदै आएको थियो ।

यस क्रममा काठमाडौंमा महिन्द्रेश्वर महादेव मखनमा, पाटनमा विश्वेश्वर महादेव मंगलबजार र भक्तपुरमा तिलेश्वर महादेव टौमढीमा मासिक रूपमा रूद्री पाठ गरिँदै आएको हो ।

मासिक रूपमा हुँदै आएको कार्यक्रम अन्तर्गत गत असार ११ गतेका दिन १२ औं पटकको कार्यक्रम सम्पन्न भएपछि मंगलबार यसको औपचारिक समापन गरिएको हो ।

सबैको साथ र सहयोग रहे यस किसिमका कार्यक्रम हरेक वर्ष गर्दै जाने समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनुभयो ।