लक्समबर्ग माथि पोर्चुगलको फराकिलो जित
Swoniga Online – आकाश राजोपाध्याय | २०७९ चैत्र १३, सोमबार वर्गीकृत खेलकुद
युरोकप छनोटको खेलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा लक्समबर्गलाई ६–० गोलले हराउँदै पोर्चुगलले फराकिलो जित निकालेको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा जोआ फेलिक्स, बेर्नार्डो सिल्भा,ओताभियो र राफायल लिओले एक एक गोल गरे ।
लक्समबर्ग स्टेडियममा भएको खेलको नवौं मिनेटमा रोनाल्डोले गोलमा पोर्चुगलले अघि बढ्यो ।
१५ औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । सिल्भाले १८ औं मिनेटमा गोल गर्दा पोर्चुगलको अग्रता तेब्बर भयो ।
३१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४–० को अग्रता दिलाए ।
खेलको ७७ औं मिनेटमा ओताभियोले गोल गरेपछि पोर्चुगलले ५–० को अग्रता बनायो ।
त्यसपछि खेलको ८८ औं मिनेटमा राफायलले गोल गर्दा पोर्चुगल ६–० को फराकिलो नतिजाले विजयी भयो ।
यो पोर्चुगलको लगातार दोस्रो जित हो । पोर्चुगलले २ खेलमा ६ अंक जोड्डै समूह जे को शीर्ष स्थानमा रहेको छ ।
यस्तै लक्समबर्ग १ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।