राहुल गान्धीलाई सरकारी निवास खाली गर्न आदेश

Swoniga Online | २०७९ चैत्र १४, मंगलबार वर्गीकृत विश्व

भारतीय संसद लोकसभाले भारतीय कंग्रेस आईका नेता राहुल गान्धीलाई सरकारी निवास खाली गर्न आदेश दिएको छ ।

सोमबार लोकसभाको हाउजिङ कमिटीले गान्धीलाई सरकारी निवास खाली गर्न सूचना जारी गरेको हो । 

लोकसभाको सांसद वेबसाइटबाट नाम हटाउँदै गान्धी निर्वाचित भएको क्षेत्र वायनाडलाई रिक्त घोषित गरिएको भारतीय संचार माध्यमहरूले जनाएका छन् ।

गान्धी निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन घोषणा गर्ने तयारी सुरु गरेको छ ।

कांग्रेस नेता गान्धीलाई गत बिहीबार सुरतको एक अदालतले ४ वर्ष पुरानो मानहानीको मुद्दामा २ वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाएको थियो ।