add

राजोपाध्याय समाजको गायन प्रतियोगीता सम्पन्न, सक्षम विजयी

Swoniga Online – Swonigaonline Reporter | २०८० मङ्सिर १०, आइतबार वर्गीकृत कला

ललितपुर÷राजोपाध्याय समाज भित्रका गायन प्रतिभाको खोजी अन्तर्गत गरिएको गायन प्रतियोगीतामा सक्षम शर्मा राजोपाध्याय विजयी भएका छन् ।

राजोपाध्याय समाजको आयोजनामा शनिबार ललितपुरमा सम्पन्न प्रतियोगीताको फाइनल राउन्डमा सक्षमले अंकित अमरु श्रेष्ठको ‘लजाएर एक्लै बसेकी किन मायालु’ गीत गाउँदै प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।

त्यसैगरी प्रतियोगीतामा सुभिया राजोपाध्याय दोश्रो भइन् भने सौरभ राजोपाध्यायले तेश्रो स्थान हासिल गरे । सुभियाले क्रमशः नेपालको ‘मेरो माया’ गाएकी थिइन् भने सौरभले १९७४ एडि ब्यान्डको ‘परेलीमा लुकाइराख न’ गाएका थिए ।

विजयी प्रतियोगीतीहरुलाई निर्णायक मण्डलका सदस्य कलानिधि इन्दिरा संगीत महाविद्यालयका प्रिन्सिपल, गायक धनबहादुर गोपालीले ट्रफि प्रदान गरे ।

नगद पुरस्कार भने पौष महिनामा आयोजना गरिने समाजको वार्षिक साधारण सभामा प्रदान गरिने समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले जानकारी दिए ।

प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः रु. दश हजार, रु. सात हजार र रु. चार हजार नगद पुरस्कारको व्यवस्था गरिएको समाजले जनाएको छ ।

विजेताहरुको नाम निर्णायक मण्डलका सदस्य गोपालीले घोषणा गरेका थिए ।

सो क्रममा गायक गोपालीले विगतमा कला क्षेत्रलाई हेयको दृष्टिले हेर्ने गरिएकोमा अहिले यो क्षेत्र पनि सम्मानित बनेको भन्दै अभिभावकले आफ्ना सन्तानलाई कला क्षेत्रमा अग्रसर हुन प्रोत्साहन दिन आग्रह गरे ।

निर्णायक मण्डलमा गोपालीको साथमा संगीत संयोजक, क्लासिकल गितारिस्ट भुपेन्द्र बज्राचार्य र नेपालका पहिलो हवाइन गितारिस्ट ईश्वर जोशी रहेका थिए ।

कार्यक्रममा गायक सुरजबीर बज्राचार्य, निर्णायक मण्डलका सदस्य साथै संगीत संयोजक र गायक भुपेन्द्र बज्राचार्यको पनि प्रस्तुति रहेको थियो ।

साथमा मुनिन्द्र ज्वालानन्द राजोपाध्याय र विनित ज्वालानन्द राजोपाध्यायले सारंगी र बाँसुरी वादन प्रस्तुत गरेका थिए ।

कार्यक्रम संयोजक साथै समाजका संस्थापक अध्यक्ष बदन ज्वालानन्द राजोपाध्यायले समाज भित्र लुकेर बसेका प्रतिभा उजागर गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रतियोगीताको लागि अडिसन भने २०७६ फागुन १७ गते नै सम्पन्न भइसकेको थियो । कोरोना महामारी, डेंगुको प्रकोप लगायत विविध कारणले फाइनल प्रतिस्पर्धा ढिला हुन गएको कार्यक्रम संयोजक राजोपाध्यायले जानकारी दिए ।