रातो मच्छिन्द्रनाथको रथ जेठ ८ गते जाउलाखेल लगिने

Swoniga Online – आकाश | २०८० बैशाख २८, बिहिबार वर्गीकृत स्थानीय-समाज

रातो मच्छिन्द्रनाथ (बुंगद्यः) को रथको जाह्वला जात्रा (पश्चिम यात्रा) आउँदो जेठ ८ गते हुने भएको छ ।

आजै विहान ज्योतिषहरुको समूहले मंगलबजारस्थित मंगःहितिनिर रहेको मणिमण्डप फल्चा (सोर्‍हखुट्टे पाटि) मा बसी मच्छिन्द्रनाथको पश्चिम जात्राको साइत निकालेको हो ।

जाह्वला जात्रा अर्थात जाउलाखेलमा रथ तान्ने दिनको साइत निकालिएसँगै भोटो जात्राको दिन पनि टुङ्गो लागेको छ ।

थतिटोलमा राखिएको रथलाई तानेर जाउलाखेल पुर्‍याएको चौथो दिनमा भोटो जात्रा गर्ने गरिन्छ ।

जेठ ८ गते सोमबार रातो मच्छिन्द्रनाथको रथलाई तानेर जाउलाखेल पुर्‍याएमा जेठ ११ गते बिहिबार भोटो जात्रा गर्दै यस वर्षको जात्रा टुङ्गिने छ ।

रथलाई याकः मिसा भुज्याः गर्दै थतिटोल पुर्‍याएको केहि दिनपछि बाराही समुदायले बुंगद्यःको द्यःपूजा गर्ने गर्छन् ।

यहि द्यःपुजाकै दिन मणिमण्डप फल्चामा स्थानीयबासी, पानेजु तथा गुठी संस्थान अधिकृतको उपस्थितिमा जाह्वला जात्राको साईत हेर्ने चलन रहँदै आएको छ ।