पहिचानको आधारमा प्रदेश १ लाई पुनः नामाङ्कन गर्न माग

Swoniga Online – आकाश राजोपाध्याय | २०७९ चैत्र १४, मंगलबार वर्गीकृत राजनीति

प्रदेश १ लाई पहिचानको आधारमा पुनः नामाङ्कन गर्न माग गरेको छ ।  प्रदेश १ लाई कोशी नामाङ्कन गरेको विरोधलाई  ९ वटा आदिवासी राजनीतिक संगठनहरूको गठबन्धनले समर्थन गरेका छन् ।

उक्त संगठनको गठबन्धनले राजधानीमा पत्रकार सम्मेलन गरी कोशी नाम खारेज गरी पहिचानसँग जोडिएको नाम नराखे देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएका छन् ।

साथै गठबन्धनले कोशी नामाङ्कनको विरोधमा हाल भइरहेको आन्दोलनलाई समर्थनका साथै ऐक्यवद्धता पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै खम्बुवान राष्ट्रिय मोर्चा नेपालका अध्यक्ष आरके खम्बुले १ नम्बर प्रदेशलाई कोशी नामाङ्कन गर्दा जनताले आफ्नो पहिचान गुमाएको महसुस गर्नु र त्यसको प्रतिवाद गर्नु स्वाभाविक रहेको धारणा राखे ।

नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले देशमा बहु–पहिचानसहितको संघीयता लागू हुनुपर्नेमा जोड दिँदै प्रदेश १ लाई पहिचानकै आधारमा पुनः नामाङ्कन गर्न माग गरे ।

त्यस्तै राष्ट्रिय ताम्सालिङ पार्टीका अध्यक्ष बुद्धराज लामा, मगरात राष्ट्रिय पार्टी नेपालया अध्यक्ष इन्द्रबहादुर मगरलगायतले कोशी नाम खारेज नगरिए कोशीमा सल्किएको आगो देशभरी फैलिने चेतावनी दिए ।

कार्यक्रमका वक्ताहरूले चैत ५ गते विराटनगरमा प्रहरी दमनबाट मृत्यु भएका पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्दै लिम्बुको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरे ।