संसार क्रिएसन्सको शुभकामना कार्यक्रम सम्पन्न
Swoniga Online – स्वनिगःअनलाइन रिपाेर्टर | २०८१ कार्तिक १५, बिहिबार वर्गीकृत कला
कला क्षेत्रमा निरन्तर विभिन्न कार्यक्रमहरु गर्दै आएको संस्था संसार क्रिएसन्सको तिहार र नेपाल सम्वत नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
बुधवार संसार क्रिएसन्सले ललितपुरमा खोकनामा तिहार र नेपाल सम्वत ११४५ नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा २१ का वडाध्यक्ष रविन्द्र महर्जन, वरिष्ठ संगीतकार रत्न बेहोशी बज्राचार्य, वरिष्ठ निर्देशक साथै रचनाकार पवन जोशी, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ संगीतकार राजु सिंह लगायतले आआफ्ना विचार राखेका थिए ।
गायिका साथै संसार संगीतालयकी संरक्षक सरिता महर्जन, प्रकृती प्रेमी समूहका संरक्षक लक्ष्मीनारायण सिं सुवाल र वरिष्ठ साहित्यकार विक्रम भक्त जोशीले तिहार र नयाँ वर्ष नेपाल सम्वत ११४५ को शुभकामनाको साथमा आआफ्ना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा संसार स्टार म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको लागि नितिं दर्ता खुल्ला भएको घोषणा पनि गरिएको थियो ।
विश्वकै सबैभन्दा ठुलो र समयावधिको हिसाबले सबैभन्दा लामो दाबी गरिएको स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको लागि आआफ्नो गीत, म्यूजिक भिडियो दर्ता गर्न संसार क्रिएसन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनले सबै गायक, कलाकार र सर्जकहरुलाई आह्वान गरे ।
क्रिएटिभ डाइरेक्टर महर्जनले तेश्रो संस्करणसम्म आइपुग्दा अवार्डलाई व्यापकता दिँदै यसलाई राष्ट्रिय स्तरमा लग्ने प्रयास गरेको बताए ।
‘यो अवार्डलाई विश्वकै ठुलो र समयावधिको हिसाबले सबैभन्दा लामो समय लामो अवार्डको रुपमा गिनिज बुकमा दर्ता गराउन खोजिरहेका छौं । तेश्रो संस्करणमा आइपुग्दा राष्ट्रिय स्तरमा लग्ने उद्देश्यले यसको नाम संसार राष्ट्रिय स्टार म्यूजिक भिडियो अवार्ड्स बनाएका छौं’ महर्जनको भनाई हो ।
अवार्डको लागि दर्ता समय मंसीर मसान्तसम्म तोकिएको छ ।
संसार क्रिएसन्सकी संस्थापक प्रेमा संसार महर्जनले संस्थाको परिचय दिँदै संस्थाले गर्दै आएको कार्यक्रम, गतिविधिबारे जानकारी दिइन् ।
सोही कार्यक्रममा संसार अनलाइन टिभी युट्युब च्यानलमा अपलोड भएका गीतहरुको सर्जकलाई भ्यूजको आधारमा रोयल्टी पनि वितरण गरिएको थियो । त्यस्तै, युट्युब च्यानलमा टप ५ भ्यूज गीतहरुलाई बधाई पत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा एज्लिना राईले नृत्य र सरीता महर्जन, स्वतन्त्र महर्जन, सरस्वती मानन्धर, राजेन्द्र श्रेष्ठ, सविना मानन्धर, राजेन्द्र शाक्य, एलन शाही, समा डंगोल, राजु नकर्मी, बीणा महर्जन, चेकराम अवाले र प्यारी सुवाल लगायतका गायक, गायिकाहरुले गीत प्रस्तुत गरेका थिए ।