सेभियाले युरोपा लिगको उपाधि जित्यो

Swoniga Online | २०८० जेठ १८, बिहिबार वर्गीकृत खेलकुद

स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै सेभियाले सातौं पटक उपाधि उचालेको हो ।

हंगेरीको पुस्कस एरिनामा भएको यो खेलको ३४ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५५ औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो ।

त्यसपछि खेलको निर्धारित र थप गरिएको समयमा दुबै टोलीबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा सेभियाका गोन्जालो मोन्टिल, इभान राकिटिच, एरिक लामेला र लुकास ओकाम्पुसले गोल गरे ।

रोमाको लागि ब्रायन क्रिस्टान्टेले मात्र गोल गरे । रोजर इबानेज र जियानलुका मान्सिनी पेनाल्टीमा चुक्दा खेल सेभियाले उपाधि आफ्नो पोल्टामा पारे ।