जनतालाई भूमिको अधिकार दिलाउन पहल गर्ने श्रेष्ठको प्रतिवध्दता

Swoniga Online – Swonigaonline Reporter | २०७९ मङ्सिर १, बिहिबार वर्गीकृत राजनीति

आउँदो मसीर ४ गते हुन गइरहेको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ७ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजेन्द्र प्रसाद श्रेष्ठले जनतालाई भूमि सम्वन्धि अधिकार दिलाउन आफुले भूमिका खेल्ने बताउनुभएको छ ।

स्वनिगः अनलाईनसँगको कुराकानीको क्रममा उम्मेदवार श्रेष्ठले आम नागरिकको आधारभूत आवश्यकतामा पर्ने गाँस, बास र कपासको अधिकारको सुनिश्चितता राज्य पक्षबाट हुनुपर्ने र आफुले सो अधिकार जनतालाई दिलाउन भूमिका खेल्ने बताए ।

विगतमा पनि आफुले यस क्षेत्रमा नतिजामुखी काम गरेको र आउँदा दिनमा पनि यसलाई अझ सशक्त ढङ्गबाट अगाडी बढाउने श्रेष्ठले भने ।

‘संसदमा आवास सम्वन्धि विधेयकमा विना क्षतिपुर्ति वा मुआब्जा कसैको नीजि सम्पत्तिमा डोजर चलाउन वा कब्जा गर्न नपाइने गरी मैले संशोधन प्रस्ताव राखी संशोधन गराएको थिएँ । गैर न्यायिक सडक विस्तार, बाहिरी चक्रपथ लगायतका विषयमा पनि मैले आम नागरिकको पक्षमा आवाज उठाएको थिएँ’ श्रेष्ठले भने, ‘विकासको नाममा भूमिपति सुकुम्वासी बन्ने परिस्थिती ल्याइनुहुन्न ।’

भूमि सम्वन्धि अधिकारको सवालमा अझ पनि समस्याहरु रहेको र समाधानको लागि आफुले योजना बनाएको उनले भने ।

भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको हकमा राज्यले व्यवस्थापनको जिम्मा लिएपनि स्वबासीहरु भने अझै समस्यामा रहेको उनको भनाई छ । आउँदा दिनमा स्वबासीको व्यवस्थापनको लागि पनि आफुले कदम चाल्ने उनले बताए ।

‘भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीलाई राज्यले ४ आना १ पैसा जग्गा दिएर व्यवस्थापन गर्ने भनेको छ तर स्वबासीको हकमा केही बोलेको छैन । पुस्तौंदेखि यहाँ बस्दै आएका रैथानेहरुको व्यवस्थानको जिम्मा पनि राज्यले लिनुपर्छ । यसको लागि मैले कदम चाल्नेछु’ श्रेष्ठले आफ्नो योजना सुनाए ।