सिंगटी हाइड्रोको आईपीओ आजबाट बिक्री खुला

Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ६, शुक्रबार वर्गीकृत आर्थिक

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजबाट सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक निष्कासान सार्वजनिक (आईपीओ) बिक्री गर्ने भएको छ ।

पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गर्न लागेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ ।

बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

मेगा क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप हुन सक्नेछ । सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ 

यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको जनाउँछ ।कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरु र मेरो सेयरमार्फत आवेदन दिने सकिनेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी १ अर्ब ४५ करोडको १० प्रतिशत स्थानीय आयोजना प्रभावित र २० प्रतिशत सर्वसाधारणको लागि बिक्री गर्ने अनुमति पाएको थियो ।

जसअनुसार कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्र दोलाखाको बिगु र कालिञ्चोक  गाउँपालिकाका स्थानीयको लागि  सेयर बिक्री गरेको थियो । कम्पनीले स्थानीय आयोजना प्रभावितको लागि १४ करोड ५० लाख रुपैयाँ बरारबको १४ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो ।