बेलायतबाट ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक

Swoniga Online – स्वनिगः अनलाइन रिपोर्टर | २०७९ भाद्र ३, शुक्रबार वर्गीकृत कला

बेलायतमा निर्मित सामाजिक यथार्थवादी कथामा आधारित नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र कैदीको पत्रको ट्रेलर बेलायतवाटै विश्वव्यापी सार्वजनिक भएको हो ।

चलचित्र कैदीको पत्रको कथावस्तु बेलायतमै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गीय ईश्वर मानन्धरको कथा संग्रह कैदीको पत्रमा आधारित रहेको छ ।

सनम कुमार बैरागद्वारा निर्देशित चलचित्रको संपूर्ण छायाङ्कन बेलायतको स्कटल्याण्डमा भएको हो । ४० दिनमा छायाङ्कन सम्पन्न भएको चलचित्रमा बेलायतमै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रमा ३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषा रहेको निर्देशक सनम कुमारले जानकारी दिनुभयो । युवा पुस्ताको रुचि र चासोलाई मध्यनजर गरेर चलचित्रको कथावस्तुअनुरुप अंग्रेजी भाषालाई पनि प्राथमिकता दिएको निर्देशक बैरागको भनाई छ ।

नायक विक्रम दि जोशीको अलावा कैलाश विश्वकर्मा, दिल घले, नानीहेरा बैराग र हिराल जोशीको निर्माण रहेको छ ।

निर्देशक बैरागकै गीत, पटकथा तथा संवाद रहेको चलचित्रमा बेलायतका पूर्व नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ । म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुवर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारहरुको विशेष अभिनय रहेको छ ।

बेलायतवाट सेप्टेम्बर महिनादेखि चलचित्रको सार्वजनिक प्रदर्शन शुरु हुने बताइएको छ । त्यस्तै, नेपालभर आगामी नोभेम्बर महिनावाट प्रदर्शन हुने भएको जानकारी पनि निर्देशक बैरागले दिएका छन् ।