अफगानिस्तानबाट १२७ जना नेपाली काठमाडौँ आइपुगे

Swoniga Online – Rosni | २०७८ भाद्र २, बुधबार वर्गीकृत अन्तर्राष्ट्रिय

काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली नागरिक गए राति अर्को चार्टर विमानबाट काठमाडौँ आइपुगेका छन् । मित्रराष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा मंगलबार १२७ जना नेपाली काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

सोही उडानबाट काठमाडौँ आइपुगेका नौ भारतीय नागरिकलाई स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी यहाँस्थित भारतीय दूतावासका पदाधिकारीलाई जिम्मा लगाइएको छ । 

मन्त्रालयले मंगलबार साँझसम्म कन्सुलर सेवा विभागको बेव पोर्टलमा २५६ नेपालीले आफ्नो विवरण दर्ता गरेको स्पष्ट पारेको छ । अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको बेभसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्एप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ । 

ती नम्बरमा कन्सुलर सेवा विभागको ९७४९३२६४५८, परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९ र नेपाली दूतावास नयाँ दिल्लीको ८९२९६०१९२५ छन् । ती नम्बरको प्रयोग गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ । 

उद्धार गर्ने कार्यमा संस्थागतरुपमा अफगानिस्तानमा रोजगारीका लागि नेपाली नागरिक पठाउने वैदेशिक रोजगार व्यवसायीलाई उद्धार प्रक्रिया सहयोग गर्न आग्रह गरिएको छ । मन्त्रालयले त्यहाँ रहेका र सम्पर्कमा आएकामध्ये केही नेपाली नागरिकले अफगानिस्तानको पछिल्लो अवस्था आँकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी जानकारी गराएका छन् ।