add

अमेरिकी केन्द्रीय बैंकले लगातार १० औं पटक ब्याजदर बढायो

Swoniga Online | २०८० बैशाख २२, शुक्रबार वर्गीकृत अन्तर्राष्ट्रिय

अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले लगातार १० औं पटक ब्याजदर बढाएको छ ।

बैंकले मुद्रास्फीति नियन्त्रणका लागि भन्दै सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको हो ।

यो सँगै अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर न्यूनतम ५ देखि अधिकतम ५.२५ प्रतिशत बिन्दु कायम गरेको सञ्चार माध्यम सीएनबीसीले उल्लेख गरेको छ  ।

बैंकले ब्याजदर बढाएसँगै अमेरिकामा अन्य सबै प्रकारका कर्जाको ब्याजदर स्वतः बढेको छ । यसअघि यस्तो ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म थियो ।

अमेरिकामा पछिल्ला १४ महिनामा दशौं पटक ब्याजदर बढाएको छ भने यो ब्याजदर १६ वर्ष यताकै उच्च भएको छ ।

सुरुवाती चरणमा ब्याजदर वृद्धिले मूल्यवृद्धि नियन्त्रणमा जति प्रभावकारी सघाउ पुगेको थियो, पछिल्ला महिनाको ब्याजदर वृद्धिले पर्ने सकारात्मक प्रभाव घट्न थालेको बैंकले जनाएको छ ।

फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोम पावेलले घर परिवार तथा व्यवसायीलाई ब्याजदर वृद्धिले केही असर पारे पनि समग्र अर्थव्यवस्थाका लागि उपयुक्त कदम भएको प्रतिक्रिया दिएका छन् ।

साथै तत्कालै मुद्रास्फीति लक्षित सीमामा ल्याउन नसकिने हुँदा ब्याजदर तत्काल कटौती गर्न उपयुक्त नहुने पनि पावेलले बताएका छन् ।

केन्द्रीय बैंकले हाल ५ प्रतिशत हाराहारीमा रहेको मुद्रास्फीति (मूल्यवृद्धि) लाई २ प्रतिशतको सीमामा झार्ने लक्ष्य लिएको छ ।

सन् २०२३ को अन्त्यसम्म ३.३ प्रतिशतसम्म झार्ने लक्ष्य छ ।