जर्मनीमा आर्थिक मन्दी

Swoniga Online | २०८० जेठ १२, शुक्रबार वर्गीकृत अन्तर्राष्ट्रिय

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा आर्थिक मन्दी भएको छ । जर्मनीको संघीय तथ्यांक कार्यालयले सन् २०२३को दोस्रो त्रैमासमा पनि कुल गार्हस्थ उत्पादन अघिल्लो त्रैमासको भन्दा तल जाने प्रक्षेपण गरेपछि मन्दी घोषणा गरिएको हो ।

यसअघि पहिलो तीन महिनामा जर्मनी अर्थतन्त्रमा शून्य दशमलव ३ प्रतिशतको गिरावट आएका तथ्यांक कार्यालयले जनाएको थियो ।

लगातार दुई वटा त्रैमासमा कुल गाहस्र्थ उत्पादमा गिरावट आयो भने मन्दीको रुपमा लिने गरिन्छ ।

यस्तै देशको अर्थतन्त्र २ दशमलव २ प्रतिशतसम्मले खुम्चिने प्रक्षेपण जर्मनीका वरिष्ठ अर्थविद्हरुले गरिसकेका छन् ।

पछिल्लो त्रैमासमा जर्मन सरकारको खर्च गर्ने क्षमता ४ दशमलव ९ प्रतिशतले खुम्चिएको छ । यस्तै आम उपभोक्तको खर्च पनि घटेको छ ।

देशको अर्थतन्त्रमा आश्चर्यजनक रुपमा नकारात्मक संकेतहरु जर्मनी अर्थमन्त्री क्रिस्टियान लिण्डरले बताए । अन्य विकसित देशको अर्थतन्त्रको तुलनामा जर्मनीको अर्थतन्त्रमा नकारात्मक संकेत देखिएको उनको भनाइ छ ।

आर्थिक मन्दी सुरु भएको घोषणासँगै बिहीबार त्यहाँको शेयर बजारमा भारी गिरावट आएको छ । जर्मनीको मन्दीले सिंगो युरोप र अमेरिकासम्म असर गर्नसक्ने विश्लेषण गरिएको छ ।

अमेरिकापछि जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको चीनमा जर्मनीका कारको निर्यात पनि २४ प्रतिशतले घटेको छ ।

आर्थिक मन्दी सुुरु भए पनि जर्मनीमा अहिले पनि महंगी दर ७ प्रतिशत माथि नै रहेको छ । सर्वसाधारणको आम्दानी नबढेपनि महंगी दर उच्च रहने समस्याको समाधान खोज्नु चुनौतिपूर्ण रहेको अर्थविदहरुको भनाइ छ ।